Open Bible Stories Home

४५. फिलिप र इथियोपिका उच्च पदाधिकारी

बाइबलको कथा: प्रेरित ८:५; ८:२६-४० बाट

शुरुका मण्डलीका अगुवाहरुमध्ये स्तिफनस नाउँ गरेका एकजना व्यक्ति थिए। उनी असल प्रतिष्ठा अनि पवित्र आत्मा र बुद्धिले भरपुर भएका मानिस थिए। स्तिफनसले थुप्रै आश्चर्यकर्महरु गरे र मानिसहरुले येशूमा विश्वास गर्नुपर्छ भनी सशक्त ढंगले तर्क गर्दथे।​

एकदिन, जब स्तिफनसले येशूको बिषयमा शिक्षा दिइरहेका थिए, येशूमा विश्वास नगर्ने केही यहूदीहरुले स्तिफनससँग विवाद गर्न लागे। तिनीहरु ज्यादै क्रोधित भए र स्तिफनसको सम्बन्धमा धार्मिक अगुवाहरुलाई झुटो गवाही दिए। तिनीहरुले भने, “उसले मोशा र परमेश्वरको बारेमा दुष्ट कुराहरु भनेको हामीले सुन्यौँ!” त्यसैले ती धार्मिक अगुवाहरुले स्तिफनसलाई पक्रे अनि प्रधान पुजाहारी र अरु यहूदी अगुवाहरुकहाँ ल्याए, जहाँ तिनीहरुले स्तिफनसको बिषयमा धेरैले झुटा गवाहीहरु दिए। ​

प्रधान पुजाहारीले स्तिफनसलाई सोधे, “के यी कुराहरु सत्य हुन्?” स्तिफनसले तिनीहरुलाई परमेश्वरले अब्राहमदेखि लिएर येशूको समयसम्म गर्नुभएका कयौँ महान् कामहरु, र कसरी परमेश्वरका मानिसहरुले निरन्तर रुपमा उहाँको आज्ञापालन नगरेका भनी स्मरण गराउँदै जवाफ दिए। अनि तिनले भने, “तपाईँ हठी र विद्रोही मानिसहरुले सधैँ पवित्र आत्मालाई इन्कार गर्नुहुन्छ, जसै तपाईँहरुका पुर्खाहरुले सधैँ परमेश्वरलाई इन्कार गरे र उहाँका अगमवक्ताहरुलाई मारे। तर तपाईँहरुले त केहि कुरा अझ बढी गर्नुभयो, जुन उनीहरुले गरेभन्दा खराब थियो! तपाईँहरुले मसिहलाई मार्नुभयो!”

जब ती धार्मिक अगुवाहरुले यो कुरा सुने, तिनीहरु यति क्रोधित भए कि तिनीहरुले आफ्ना कान थुने र चर्को स्वरले कराए। तिनीहरुले स्तिफनसलाई शहर बाहिर घिसारेर लगे र उनलाई मार्न ढुङ्गाले हाने।​

जसै स्तिफनस मर्नै लागेका थिए, उनले कराएर भने, “येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।” अनि उनले आफ्ना घुँडा टेके र फेरि चर्को स्वरले यसो भनी कराए, “प्रभु, यो पापको दोष यिनीहरुमाथि नलागोस्।” त्यसपछि उनी मरे।​

शाऊल नाउँ गरेका एकजना जवान मानिस स्तिफनसलाई मार्ने मानिसहरुसँग सहमत भए र तिनीहरुले ढुङ्गा हान्दैगर्दा तिनीहरुका वस्त्रहरुको रखवाल गरिदिए। त्यस दिनदेखि, यरुशलेममा धेरै मानिसहरुले येशूका चेलाहरुलाई सताउन थाले, त्यसैले विश्वासीहरु अन्य ठाउँहरुमा भागेर गए। तर त्यसको बाबजूत, तिनीहरुले आफू गएका सबै ठाउँहरुमा येशूको प्रचार गरे।​

फिलिप नाउँ भएका येशूका एकजना चेला थिए जो सतावटको समयमा यरुशलेमबाट भागेर जाने विश्वासीहरुमध्येका एक थिए। उनी सामरियामा गए जहाँ उनले येशूको बारेमा प्रचार गरे र त्यहाँका धेरै मानिसहरु बचाइएका थिए। अनि एकदिन, परमेश्वरका एक दूतले फिलिपलाई मरभुमिको एक निश्चित सडकमा जान भने। जसै उनी त्यस बाटोमा हिँड्दै थिए, फिलिपले इथियोपियाका एकजना महत्वपूर्ण सरकारी कर्मचारीलाई आफ्नो रथमा चढेर जाँदै गरेको देखे। अनि पवित्र आत्माले फिलिपलाई गएर त्यस मानिससँग कुरा गर्न भन्नुभयो।

जब फिलिप त्यस रथको नजिकै आईपुगे, उनले त्यस इथियोपियाली मानिसले यशैया अगमवक्ताले लेखेको पत्रबाट पढिरहेको सुने। त्यस मानिसले पढ्यो, “जसरी भेडा काटिनलाई लगिन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन। उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन। किनभने उसको जीवन पृथ्वीबाट हरण भयो।”​

फिलिपले त्यस इथियोपियालीलाई सोधे, “तपाईँले पढिरहनुभएको कुरा के तपाईँ बुझ्नुहुन्छ?” त्यस इथियोपियालीले जवाफ दियो, “अहँ। कसैले नबताईकन म कसरी बुझ्न सक्छु र? कृपया आउनुहोस् र मेरो छेऊमा बस्नुहोस्। के यशैयाले आफ्नै बारेमा लेखेका थिए वा अरु कसैको बारेमा?”

फिलिपले त्यस इथियोपियाली मानिसलाई यशैयाले येशूको बारेमा लेखेका थिए भनी व्याख्या गरिदिए। फिलिपले उनलाई येशूको बारेमा सु-समाचार सुनाउन अरु पत्रहरुको पनि प्रयोग गरे।​

जसै फिलिप र त्यस इथियोपियाली यात्रा गर्दैथिए, उनीहरु केहि पानी भएको ठाउँमा आईपुगे। त्यस इथियोपियालीले भन्यो, “हेर्नुहोस्! त्यहाँ केहि पानी छ! के मैले बप्तिस्मा लिन सक्छु?” अनि उसले आफ्नो चालकलाई रथ रोक्न लगायो। ​

त्यसैले उनीहरु तल पानी भएको ठाउँमा गए, अनि फिलिपले त्यस इथियोपियालीलाई बप्तिस्मा दिए। उनीहरु पानीबाट बाहिर आएपछि, अचानक पवित्र आत्माले फिलिपलाई अन्त्यै लैजानुभयो जहाँ उनले मानिसहरुलाई येशूको बारेमा बाताइनै रहे। ​

त्यस इथियोपियाली मानिसचाहिँ आफ्नो घरतर्फ जान आफ्नो यात्रालाई निरन्तरता दियो, र येशूलाई चिनेकोमा ऊ खुसी थियो।

Next Chapter