योसेफको मृत्युपछि, तिनका सबै आफन्तहरु मिश्र देशमै रहन थाले। तिनीहरुका सन्तानहरु पनि धेरै वर्षसम्म निरन्तर रुपमा त्यहिँ बसोबास गर्न लागे र उनीहरुका धेरै सन्तान भए। तिनीहरुलाई ‘इस्राएली’ भनिन्थ्यो।
सयौं वर्षपछि इस्राएलीहरुको संख्यामा धेरै बृद्धि भइसकेको थियो। मिश्रीहरुले योसेफ र तिनले उनीहरुप्रति गरेका सबै गुण बिर्सिसकेका थिए। उनीहरु इस्राएलीहरुसँग डराउन लागे किनकी उनीहरु संख्यामा ज्यादै धेरै थिए। त्यसैले त्यस समयमा मिश्रदेशमा राज्य गरिरहेका फारोले इस्राएलीहरुलाई मिश्रीहरुका दास बनाए।
मिश्रीहरुले इस्राएलीहरुलाई धेरै भवनहरु र पुरै सहर समेत बनाउन लगाए। कडा परिश्रमले उनीहरुको जीवनलाई कठीन बनायो, तर परमेश्वरले उनीहरुलाई आशिष् दिनुभयो, र उनीहरुका सन्तानहरु अझ बढी हुँदै गए।
इस्राएलीहरुले धेरैभन्दा धेरै बच्चाहरु जन्माइरहेका फरोले देखे, त्यसैले उनले आफ्ना मानिसहरुलाई सबै इस्राएलीहरुका भर्खर जन्मिएका छोराहरुलाई नील नदीमा फ्याँकी मार्ने आदेश दिए।
कुनै एकटा इस्राएली आइमाईले एउटा छोरो जन्माइन्। उनले र उनका पतिले आफूले सक्दो समयसम्म त्यस बच्चालाई लुकाएर राखे।
जब त्यस बच्चाको आमाबुवाले उसलाई अरु बढ्ता समय लुकाउन सकेनन्, उसलाई मारिनबाट जोगाउनको खातिर तिनीहरुले एउटा कोक्रो बनाइ बच्चालाई त्यसभित्र राखिदिए र नील नदीको किनारमा पटेरहरुको बीचमा छोडिदिए। बच्चाकी दिदीले उसलाई के हुने रहेछ भनी हेरिरहिन्।
फरोकी छोरीले त्यस कोक्रोलाई देखिन् अनि त्यसभित्र के रहेछ भनी खोलेर हेरिन्। जब उनले बच्चालाई देखिन्, उनले त्यसलाई आफ्नै छोराको रुपमा राखिन्। उनले एक इस्राएली आइमाईलाई त्यस बच्चाको हेरचाह गर्न ज्याला दिएर राखिन् तर त्यस आइमाई बच्चाकी असली आमा थिइन् भन्ने कुरा उनलाई थाहा थिएन। जब त्यो बच्चा अब दूध खान नपर्ने जति ठूलो भयो, त्यस आइमाईले उसलाई फारोकी छोरीकहाँ पठाइदिइन् जसले उसको नाउँ मोशा राखिन्।
एकदिन, जब मोशा ठूला भईसकेका थिए, एक मिश्रीले इस्राएली दासलाई कुटिरहेको उनले देखे। मोशाले आफ्नो इस्राएली बन्धुलाई बचाउन खोजे।
जब मोशाले आफूलाई कसैले नदेखेको सोचे, उनले त्यस मिश्रीलाई मारे र त्यसलाई गाडीदिए। तर मोशाले त्यस मिश्रीको हत्या गरेको कसैले देखेको थियो।
जब फारोले मोशाले गरेको हत्याको बारेमा थाहा पाए, उनले मोशालाई मार्न खोजे। त्यसैले मोशा मिश्रदेशबाट भागेर उजाड स्थानतर्फ गए जहाँ उनी फारोका सैनिकहरुबाट सुरक्षित रहनेथिए।
मिश्रदेशदेखि टाढा त्यस उजाड स्थानमा मोशा एक गोठालो बने। उनले त्यस ठाउँकी एकजना स्त्रीसँग बिवाह गरे र उनका दुई छोराहरु थिए।
एकदिन जब मोशा आफ्ना भेडाहरुको हेरचाह गरिरहेका थिए, उनले एउटा पोथ्रा देखे जुन आगोले जलिरहेको थियो। तर त्यो पोथ्रा जलेर भस्म भएन। त्यो पोथ्रालाई अझ प्रष्टसँग नियाल्न मोशा त्यसको नजिक गए। जसै उनी त्यस जलिरहेको पोथ्राको नजिक आइपुगे, परमेश्वरको आवाजले भन्नुभयो, “मोशा, तेरा जुत्ताहरु खोल्। त पवित्र भूमिमा उभिरहेको छस्।”
परमेश्वरले भन्नुभयो, “मैले मेरा मानिसहरुका कष्टलाई देखेको छु। म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले इस्राएलीहरुलाई मिश्रदेशको दासत्वबाट छुटाएर ल्याउन सक्। म तिनीहरुलाई कनानको देश दिनेछु, त्यो देश जुन मैले अब्राहम, इसहाक र याकूबसँग प्रतिज्ञा गरेको थिए।”
मोशाले सोधे, “मानिसहरुले मलाई कसले पठाउनुभएको हो भनी जान्न खोज्लान्, म के भनौँ?” परमेश्वरले भन्नुभयो, “म हुँ, जो म हुँ। तिनीहरुलाई यसो भनिदिनु, ‘म हुँ’ भन्नुहुनेले मलाई तिमीहरुकहाँ पठाउनुभएको हो। तिनीहरुलाई यो पनि भनिदिनु, ‘म याह्वे हुँ, तिमीहरुका पुर्खा अब्राहम, इसहाक, र याकूबका परमेश्वर। मेरो नाउँ सदा-सर्वदाको निम्ति यहि नै हो।’”
मोशा डराएका थिए र फारोकहाँ जान चाहिरहेका थिएनन् किनकी आफू ठिकसँग बोल्न नसक्ने उनले सोचेका थिए, त्यसैले परमेश्वरले मोशाका भाइ हारुनलाई उनको साथमा साहयताको निम्ति पठाउनुभयो। फारो हठी हुनेछन् भनी परमेश्वरले मोशा र हारुनलाई सचेत गराउनुभयो।