मोशा र हारुन फारोकहाँ गए। उनीहरुले भने, “इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘मेरा मानिसहरुलाई जान देओ!’” फारोले उनीहरुको कुरा सुनेनन्, तर इस्राएलीहरुलाई छाडीदिनुको साट्टो तिनीहरुलाई झन् बढी कडा परिश्रम गर्न बलजफती गरे!
फारोले इस्राएलीहरुलाई छाड्न इन्कार गरिनै रहे, त्यसैले परमेश्वरले मिश्रदेशमा डरलाग्दा दशवटा विपत्तिहरु पठाइदिनुभयो। यी विपत्तिहरुद्वारा परमेश्वरले फारोलाई उहाँ फारो र सबै मिश्री देवहरुभन्दा शक्तिशाली हुनुहुन्छ भनी देखाउनुभयो।
परमेश्वरले नील नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो, तर फारोले अझैँ इस्राएलीहरुलाई जान दिने थिएनन्।
परमेश्वरले सारा मिश्रदेशभरि भ्यागुताहरु पठाउनुभयो। फारोले मोशालाई भ्यागुताहरु हटाइदिन विन्ती गरे। तर सबै भ्यागुताहरु मरेपछि फारोले आफ्नो हृदय कठोर पारे र इस्राएलीहरुलाई जान दिएनन्।
त्यसैले परमेश्वरले भुसुनाहरुको महामारी पठाउनुभयो। अनि त्यसपछि उहाँले झिंगाको हुलैहुल पठाउनुभयो। फारोले मोशा र हारुनलाई बोलाए र यदि उनीहरुले त्यस महामारीलाई रोकेको खण्डमा इस्राएलीहरु जान सक्ने बताए। जब मोशाले प्रार्थना गरे, परमेश्वरले सारा झिंगाहरु मिश्रबाट हटाइदिनुभयो। तर फारोले फेरि आफ्नो हृदयलाई कठोर तुल्याए र इस्राएलीहरुलाई जान दिएनन्।
त्यसपछि, परमेश्वरले मिश्रीहरुका सबै गाईवस्तुहरुमा कष्टपुर्ण महामारी निम्त्याउनुभयो र तिनीहरु सबै मरे। तर फारोको हृदय कठोर भयो र उनले इस्राएलीहरुलाई जान दिएनन्।
अनि परमेश्वरले मोशालाई फारोको आँखाकै सामु हावामा खरानी फाल्न भन्नुभयो। जब उनले त्यसो गरे, मिश्रीहरुका शरीरमा कष्टकर खटिराहरु देखा पर्यो, तर इस्राएलीहरुलाई केहि भएन। परमेश्वरले फारोको हृदय कठोर तुल्याइदिनुभयो, र फारोले इस्राएलीहरुलाई जान दिने थिएनन्।
यसो भइसकेपछि परमेश्वरले असिना वर्षाउनुभयो जसले मिश्रदेशका धेरैजसो अन्नबाली नष्ट पार्यो र बाहिर निस्कने जो कोहिलाई पनि मारिदियो। फारोले मोशा र हारुनलाई बोलाए र भने, “मैले पाप गरेको छु। तिमीहरु जान सक्छौ।” अनि मोशाले प्रार्थना गरे र आकाशबाट असिना झर्न बन्द भयो।
तर फारोले फेरि पनि पाप गरे अनि आफ्नो हृदयलाई कठोर तुल्याए। उनले इस्राएलीहरुलाई स्वतन्त्र हुन दिएनन्।
त्यसैले परमेश्वरले सलहहरुका हुललाई मिश्रदेशमा आउन दिनुभयो। यी सलहहरुले असिनाद्वारा नष्ट नभएका सबै बाली खाइदिए।
अनि परमेश्वरले अन्धकार पठाउनुभयो जुन तीन दिनसम्म रहीरह्यो। त्यो यति अन्धकार थियो कि मिश्रीहरु आफ्ना घर छाडेर बाहिर निस्किन असमर्थ थिए। तर इस्राएलीहरु बसेको ठाउँमा चाहिँ उज्जालो थियो।
यी नौवटा विपत्तिहरु भइसकेतापनि फारोले अझैँपनि इस्राएलीहरुलाई जान दिएनन्। फारोले परमेश्वरको कुरा नसुनेको कारणले अब उहाँले एउटा अन्तिम विपत्ति ल्याउने योजना गर्नुभयो। यस विपत्तिले चाहिँ फारोको मन परिवर्तन गर्ने थियो।