Open Bible Stories Home

४०. येशू क्रुसमा टाँगिनुभयो

बाइबलको कथा: मत्ती २७:२७-६१; मर्कूस १५:१६-४७; लूका २३:२६-५६; यूहन्ना १९:१७-४२ बाट

येशूको गिल्ला गरेपछि, सिपाहीहरुले उहाँलाई क्रुसमा चढाउनको निम्ति त्यहाँबाट अन्त्यै लगे। तिनीहरुले उहाँलाई क्रुस बोक्न लगाए जसमाथि उहाँलाई टाँगिने थियो।

ती सिपाहीहरुले येशूलाई “खप्परे” भनिने ठाउँमा ल्याए र उहाँका हातहरु र पाऊलाई क्रुसमा राखि त्यसमाथि काँटी ठोकिदिए। तर येशूले भन्नुभयो, “पिता, यिनीहरुलाई क्षमा गरिदिनुहोस्, किनकी यिनीहरु के गर्दैछन्, सो जान्दैनन्।” पिलातसले ती सिपाहीहरुलाई एउटा पेटीमा “यहूदीहरुका राजा” लेख‍ी र त्यसलाई क्रुसमा येशूको शिरमाथि राख्ने हुकुम दिए।

सिपाहीहरुले येशूको वस्त्रमा चिठ्ठा हाले। तिनीहरुले यसो गर्दा त्यस अगमवाणी पुरा भयो जसले भनेको थियो, “तिनीहरुले मेरा वस्त्रहरु आफैँमाझ बाँडे, र मेरो कपडाको निम्ति चिठ्ठा हाले।”

येशूलाई दुई लुटेराहरुको बीचमा क्रुसमा चढाइएको थियो। तीमध्ये एकजनाले येशूलाई गिल्ला गर्यो, तर अर्कोचाहिँले भन्यो, “के तिमीलाई परमेश्वरको कुनै डर छैन? हामी दोषी छौँ, तर यी मानिस त निर्दोष छन्।” अनि उसले येशूलाई भन्यो, “कृपया मलाई तपाईँको राज्यमा सम्झनुहोस्।” येशूले जवाफ दिनुभयो, “आज, तिमी मसँग स्वर्गमा हुनेछौ।”

यहूदी अगुवा र भीडमा भएका अरु मानिसहरुले येशूलाई गिल्ला गरे। तिनीहरुले उहाँलाई भने, “यदी तिमी परमेश्वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्लिआऊ अनि आफैँलाई बचाऊ! त्यसपछि हामी तिमीमाथि विश्वास गर्नेछौँ।”

अनि समस्त इलाकाभरि अन्धकार छायो, यद्धपी त्यो मध्यदिनको समय थियो। यस अन्धमुष्टी दिउँसोदेखि मध्यान्हको तीन बजेसम्म रहिरह्यो।

त्यसपछि येशू चर्को स्वरले कराउनुभयो, “अब सिद्धियो! पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु।” अनि उहाँले आफ्नो शिर निहुर्याउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो। जब उहाँ मर्नुभयो, त्यहाँ एउटा भुईँचालो गयो अनि मन्दिरमा मानिसहरुलाई परमेश्वरको उपस्थितिबाट अलग गराएको त्यस ठूलो पर्दा माथिदेखि तल दुई भागमा च्यात्तियो।

उहाँको मृत्युद्वारा, येशूले मानिसहरुका निम्ति परमेश्वरकहाँ आउने बाटो खोलिदिनुभयो। जब येशूलाई पहरा दिईरहेको त्यस सिपाहीले यी सबै कुराहरु भएको देख्यो, उसले भन्यो, “निश्चय नै, यी मानिस निर्दोष थिए। उनी परमेश्वरका पुत्र थिए।”

अनि योसेफ र निकोदेमस, येशूलाई मसिह भनी विश्वास गरेका दुईजना यहूदी अगुवाहरुले पिलातससँग येशूको शरीर मागे। तिनीहरुले उहाँको शरीरलाई कपडामा बेरे र त्यसलाई चट्टानमा कपेर बनाइएको चिहानभित्र राखे। त्यसपछि तिनीहरुले चिहानको मुख थुन्नको निम्ति त्यसको अगाडी एउटा ठूलो ढुङ्गा गुडाएर राखिदिए।

Next Chapter