मध्यरातको समय थियो। सेनाहरुले सोधपुछको निम्ति येशूलाई प्रधान पुजाहारीको घरमा लगे। पत्रुसले टाढैबाट तिनीहरुलाई पछ्याइरहेका थिए। जब येशूलाई घरभित्र लगियो, पत्रुसचाहिँ बाहिरै बसे र आगो ताप्दै आफैँलाई न्यानो राखे।
घरभित्रचाहिँ, यहूदी अगुवाहरुले येशूलाई महासभाको सामुन्ने राखे। तिनीहरुले धेरै झुटा गवाहीहरु ल्याए जसले उहाँको बारेमा झुट बोले। तथापि, तिनीहरुको बयान एक-अर्कासँग मिल्दोजुल्दो थिएन, तसर्थ यहूदी अगुवाहरुले उहाँलाई कुनै कुरामा दोषी प्रमाणित गर्न सकेनन्। येशूले केही बोल्नुभएन।
अन्त्यमा, प्रधान पुजाहारीले सिधै येशूतिर हरे र भने, “हामीलाई भन, के तिमी मसिह हौ, जीवित परमेश्वरका पुत्र?”
येशूले भन्नुभयो, “म हुँ, अनि तपाईँले मलाई परमेश्वरसँग बसिरहेको र स्वर्गबाट आउँदै गरेको देख्नुहुनेछ।” प्रधान पुजाहारीले रिसमा आफ्ना वस्त्रहरु च्याते र अरु धार्मिक अगुवाहरुलाई यसो भनेर कराए, “हामीलाई अरु कुनै गवाही चाहिँदैन! तिमीहरुले यसले भनेको सुनेका छौ की यिनी परमेश्वरका पुत्र हुन्। तिमीहरुको के निर्णय छ?”
सबै यहूदी अगुवाहरुले जवाफ दिए, “यिनी मारिन योग्यका छन्!” अनि तिनीहरुले येशूको आखाँमा पट्टि बाँधिदिए, उहाँलाई थुके, कुटे, र गिज्याए।
जसै पत्रुस घर बाहिर पर्खेर बसिरहेका थिए, एकजना नोकर्नीले उनलाई देखिन् र भनिन्, “तिमी पनि येशूसँगै थियौ!” पत्रुसले त्यो इन्कार गरे। पछि, अर्की स्त्रीले पनि त्यसै भनिन्, अनि पत्रुसले फेरि इन्कार गरे। अन्तत: मानिसहरुले भने, “हामीलाई थाहा छ कि तिमी येशूसँगै थियौ किनकी तिमीहरु दुवैजना गालिलका हौ।”
अनि पत्रुसले यसो भनि वाचा गरे, “यदी मैले यस मानिसलाई चिनेको रहेछु भने परमेश्वरले मलाई श्राप दिऊन्!” तुरुन्तै, एउटा भाले बास्यो, अनि येशू फरक्क फर्कनुभयो र पत्रुसतर्फ हेर्नुभयो।
पत्रुस त्यहाँबाट अन्त्यै गए र धुरुधुरु रोए। यसैबीच, यहूदा, त्यस विश्वासघातीले यहूदी अगुवाहरुले येशूलाई मार्नको निम्ति दोष्याइरहेको देखे। यहूदा शोकले भरिए अनि त्यहाँबाट अन्त्यै गए र आफ्नै हत्या गरे।
अर्को बिहान सबेरै, यहूदी अगुवाहरुले येशूलाई रोमी राज्यपाल, पिलातसको सामु ल्याए। तिनीहरुले यो आशा गरेका थिए कि पिलातसले येशूलाई दोषी ठहराउनेछन् र उहाँलाई मृत्युदण्डको सजाय दिनेछन्। पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरुका राजा हौ?”
येशूले जवाफ दिनुभयो, “तपाईँ नै त्यसो भन्नुहुन्छ, तर मेरो राज्यचाहिँ संसारको राज्य होइन। यदी त्यसो हो त, मेरा दासहरुले मेरो निम्ति लडाईँ गर्नेथिए। म संसारमा परमेश्वरको बारेमा सत्यता बताउन आएको हुँ। सबैजना जसले सत्यतालाई प्रेम गर्छन्, तिनीहरुले मलाई सुन्छन्।” पिलातसले भने, “सत्य के हो?”
येशूसँग कुरा गरिसकेपछि, पिलातस बाहिर भीडकहाँ गए र भने, “म यस मानिसमा कुनै दोष भेट्टाउँदिन।” तर यहूदी अगुवाहरु र भीडले यसो भन्दै कराए, “उसलाई क्रुसमा चढाऊ!” पिलातसले जवाफ दिए, “ऊ दोषी छैन।” तर उनीहरु अझ चर्को स्वरमा कराउन लागे। त्यसपछि पिलातसले तेस्रो पटक भने, “ऊ दोषी छैन!”
भीडले अब दंगा मच्चाउन लाग्ने भयो भनी चाल पाएर पिलातस डराए, त्यसैले उनले आफ्ना सिपाहीहरुलाई येशूलाई क्रुसमा चढाउने आदेश दिए। रोमी सिपाहीहरुले येशूलाई कोर्रा लगाए र एक राजकीय पोशाक अनि काडाँहरुले बनाएको मुकुट उहाँमाथि लगाइदिए। त्यसपछि तिनीहरुले उहाँलाई यसो भनेर गिज्याए, “हेर, यहूदीहरुका राजा!”