Open Bible Stories Home

१. सृष्टि

बाइबलको कथा : उत्पत्ती १-२ बाट

सबै कुराको शुरुवात यसरी भयो। परमेश्वरले ब्रह्माण्ड र त्यसमा भएका सम्पूर्ण थोकहरु छ दिनसम्ममा सृष्टि गर्नुभयो। परमेश्वरले पृथ्वीको सृष्टि गर्नुभयो जुन अन्धकार र शुन्य थियो, अनि त्यसमाथि कुनै पनि थोकहरु बनिएको थिएन। तर परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहनुभएको थियो।

तब परमेश्वरले भन्नुभयो, ”त्यहाँ उज्यालो भइजाओस!” अनि त्यहाँ उज्यालो भयो। अनि परमेश्वरले हेर्नु भयो र त्यो असल देख्नुभयो अनि त्यसलाई “दिन” भन्नुभयो। उहाँले त्यसलाई अन्धकारबाट अलग गर्नुभयो, जसलाई उहाँले “रात” भन्नुभयो। परमेश्वरले सृष्टिको पहिलो दिनमा दिन र रातलाई बनाउनुभयो।

सृष्टिको दोस्रो दिनमा, परमेश्वरले भन्नुभयो र पृथ्वीमाथि आकाश बनाउनुभयो। उहाँले पृथ्वीमाथि र पृथ्वीमुनि भएको पानीलाई अलग गरेेर आकाश बनाउनुभयो।

तेस्रो दिनमा, परमेश्वरले भन्नुभयो र पानीलाई सुख्खा भुमिबाट अलग गर्नुभयो। उहाँले सुख्खा भुमिलाई “पृथ्वी” भन्नुभयो, र पानीलाई “समुद्र” भन्नुभयो। आफूले सृष्टि गर्नुभएका सबै कुराहरु हेर्नुभयो र त्यसलाई परमेश्वरले असल देख्नुभयो।

त्यसपछि परमेश्वरले भन्नुभयो, “पृथ्वीले हरेक प्रकारका वनस्पतिहरु उमारुन्।” अनि त्यस्तै भयो। परमेश्वरले देख्नुभयो कि उहाँले बनाउनुभएका सबै थोकहरु असल थिए।

सृष्टिको चौथो दिन, परमेश्वरले भन्नुभयो र सुर्य, चन्द्रमा र ताराहरु बनाउनुभयो। परमेश्वरले तिनीहरुलाई पृथ्वीलाई ज्योति दिन, अनि दिन र रात छुट्याउन, ऋतुहरु र वर्षहरु छुट्याउनको निम्ति बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो।

पाचौँ दिन, परमेश्वरले भन्नुभयो र पानीमा पौडने सबै थोकहरु अनि सबै किसिमका पंक्षीहरु बनाउनुभयो। परमेश्वरले तिनीहरुलाई हेर्नुभयो र असल देख्नुभयो, अनि उहाँले तिनीहरुलाई आशिष् दिनुभयो।

सृष्टिको छैठौँ दिनमा, परमेश्वरले भन्नुभयो, “त्यहाँ हरेक प्रकारका जमीनमा हिँड्ने जीवजन्तुहरु होऊन्। अनि परमेश्वरले भन्नुभए जस्तै भइहाल्यो। केहि घरपालुवा थिए, केहि जमिनमा घ्रसरन्थे, अनि केहि चाहिँ जङ्गली थिए। परमेश्वरले देख्नुभयो कि त्यो असल थियो।

त्यसपछि परमेश्वरले भन्नुभयो, “हामी मानिसलाई हाम्रै स्वरुपमा हामी जस्तै हुनको निम्ति बनाऔँ। उनीहरुलाई समस्त पृथ्वीमा र पृथ्वीमा भएका जीवजन्तुहरुमाथि अधिकार गर्नलाई दिइनेछ।”

त्यसैले परमेश्वरले भुमिबाट केहि माटो लिनुभयो, अनि त्यसलाई मानिसको आकार दिनुभयो, अनि त्यसमा जीवनको स्वास हालिदिनुभयो। यस मानिसको नाउँ आदम थियो। परमेश्वरले एउटा बगैँचा बनाउनुभयो जहाँ आदम रहन सक्थे। बगैँचाको हेरचाह गर्न परमेश्वरले उनलाई त्यहाँ राख्नुभयो।

बगैँचाको बीच भागमा, परमेश्वरले दुइवटा विशेष रुखहरु रोप्नुभयो - जीवनको रुख अनि असल र खराबको ज्ञान दिने रुख। परमेश्वरले आदमलाई भन्नुभयो की सबै रुखका फलहरु निसंकोच मानेर खानु तर असल र खराबको ज्ञान दिने रुखको फल नखानु। यदि उसले त्यस रुखबाट फल खाएमा ऊ मर्नेथियो।

अनि परमेश्वरले भन्नुभयो, “मानिस ‍एक्लो रहन असल छैन।” तर त्यहाँ भएको कुनै पनि जनावर आदमको सहयोगी बन्न सकेनन्।

त्यसैले परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो। अनि परमेश्वरले आदमको करङहरु मध्येबाट एउटा करङ लिनुभयो र त्यसबाट एउटी स्त्री बनाउनुभयो र उनलाई आदमकहाँ ल्याउनुभयो।

जब आदमले तिनलाई देखे, उनले भने, “अन्तत:! उनीचाहिँ म जस्तै छिन्! उनलाई ‘स्त्री’ भनी बोलाइनेछ किनभने उनी पुरुषबाट बनाइएकी थिइन्।” यसैकारण एउटा पुरुषले आफ्ना आमा र बावुलाई छाडेर आफ्नी श्रीमतीसँग एक भएर रहन्छ।

परमेश्वरले पुरुष र स्त्रीलाई आफ्नै स्वरुपमा बनाउनुभयो। उहाँले तिनीहरुलाई आशिष् दिनुभयो र भन्नुभयो, “धेरै सन्तानहरु बनाओ र पृथ्वीमा भरिउन।” अनि परमेश्वरले आफूले बनाउनुभएका सबै थोकहरु असल देख्नुभयो, अनि यी सबैद्‍वारा उहाँ प्रसन्न हुनुभयो। यी सबै सृष्टिको छैठौँ दिन सम्म भएका थिए।

जब सातौँ दिन आयो, परमेश्वरले आफ्नो सबै कामहरु सिध्याइसक्नु भएको थियो। त्यसैले आफ्ना सबै कामहरुबाट उहाँले विश्राम लिनुभयो। उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र पवित्र तुल्याउनुभयो, किनकि त्यस दिन उहाँले आफ्नो कामबाट विश्राम लिनुभयो। यसरी परमेश्वरले सारा ब्रह्माण्ड र त्यसमा भएका सबै कुराको सृष्टि गर्नुभयो।

Next Chapter