धेरै वर्षपछि, दाऊदको मृत्यु भयो र उनका छोरा सोलोमनले इस्राएलमाथि शासन गर्न थाले। परमेश्वर सोलोमनसँग बोल्नुभयो र उसलाई सबैभन्दा बढी के कुराको चाहना छ भनी सोध्नुभयो। जब सोलोमनले ज्ञान-बुद्धि मागे अनि परमेश्वर प्रसन्न हुनुभयो र उसलाई संसारकै सबैभन्दा बुद्धिमान मानिस तुल्याउनुभयो। सोलोमनले धेरै कुराहरु सिके र एक बुद्धिमान न्यायकर्ता भए। परमेश्वरले उनलाई धेरै सम्पन्न पनि बनाउनुभयो।
यरुशलेममा, सोलोमनले त्यस मन्दिरको निर्माण गरे जुन उनका पिता दाऊदले बनाउने योजना गरेका थिए र त्यसको लागि सामानहरु जम्मा गरेका थिए। मानिसहरुले अब परमेश्वरलाई पूज्ने र भेट हुने पालको सट्टा मन्दिरमा बलिहरु चढाए। परमेश्वर त्यस मन्दिरमा उपस्थित हुनुहुन्थ्यो। अनि उहाँ आफ्ना मानिसहरुसँग रहनुभयो।
तर सोलोमनले अन्य देशका स्त्रीहरुलाई प्रेम गरे। उनले करिब १,००० जना स्त्रीहरुसँग बिबाह गरे, र परमेश्वरको अनाज्ञाकारी भए। यी स्त्रीहरुमध्ये धेरैजना अन्य देशहरुबाट आएका थिए अनि आफूसँगै आफ्ना देवताहरु पनि ल्याएका थिए जसलाई तिनीहरुले पूजिनै रहे। जब सोलोमन बृद्ध भए, उनले पनि तिनीहरुका देवताहरुलाई पूज्न थाले।
परमेश्वर सोलोमनसँग रिसाउनुभएको थियो अनि उसको अविश्वासनियताको कारण दण्ड स्वरुप, उहाँले सोलोमनको मृत्यु पश्चात इस्राएल राष्ट्रलाई दुई राज्यमा विभाजन गरिदिने प्रतिज्ञा गर्नुभयो।
सोलोमनको मृत्युपछि उनका छोरा, रहबाम, इस्राएलका राजा भए। रहबाम एक मुर्ख मानिस थिए। इस्राएल राष्ट्रका सारा मानिसहरु उनलाई राज्याभिषेक गर्न एकसाथ भेला भए। तिनीहरुले रहबामलाई सोलोमन राजाले कडा परिश्रम गर्न लगाएको र धेरै कर तिर्न लगाएको भनी गुनासो गरे।
रहबामले मुर्खता पुर्वक उनीहरुलाई जवाफ दिए, “मेरा बुवाले कडा परिश्रम गर्न लगाउनुभएको भनी तिमीहरुले सोचेका छौ, तर म तिमीहरुलाई उहाँले भन्दा बढी परिश्रम गर्न लगाउनेछु र उहाँले भन्दा बढी सजाय दिनेछु।”
इस्राएल राष्ट्रका कुलहरुमध्ये दश कुलहरुले रहबामको बिरुद्धमा बिद्रोह गरे। केवल दुई कुल मात्र उनीप्रति विश्वासयोग्य भए। यी दुई कुलहरु नै यहूदाको राष्ट्र भए।
रहबामको बिरुद्धमा बिद्रोह गरेका इस्राएलका अरु दश कूलले, येरोबाम नाउँ गरेका एकजना मानिसलाई आफ्नो राजा हुन नियुक्त गरे। उनीहरुले आफ्नो राज्य देशको उत्तरी भागमा खडा गरे र त्यसलाई इस्राएलको राज्य भनियो।
येरोबामले परेमश्वरको बिरुद्धमा बिद्रोह गरे र मानिसहरुलाई पापमा ल्याए। यहूदाको राज्यमा भएको मन्दिरमा गएर परमेश्वरको आराधना गराउनको साट्टो उनले मानिसहरुका निम्ति आराधना गर्न दुईवटा मूर्तिहरु बनाइदिए।
यहूदा र इस्राएलका राज्यहरु दुश्मन भए र घरीघरी एक-अर्काको बिरुद्धमा लडाईं गरिरहे।
इस्राएलको नयाँ राज्यमा, सबै राजाहरु दुष्ट थिए। यी राजाहरुमध्ये धरैजना अरु इस्राएलीहरुद्वारा मारिए जो उनीहरुको ठाँउमा राजा हुन चाहेका थिए।
इस्राएल राज्यका सबै राजाहरु र धेरैजसो मानिसहरुले मूर्तिपूजा गरे। उनीहरुका मूर्तिपूजाको कामहरुमा धेरैजसो व्यभिचार र कहिलेकहीँ त बाल-बलि समेत सम्मिलित हुने गर्थ्यो।
यहूदाका राजाहरु दाऊदका सन्तानहरु थिए। यी राजाहरुमध्ये कोही असल मानिसहरु थिए जसले न्यायपुर्वक राज्य गरे र परमेश्वरलाई पूजे। तर यहूदाका धेरैजसो राजाहरु दुष्ट र भ्रष्ट थिए अनि तिनीहरुले पनि मूर्तिपूजा गरे। केही राजाहरुले त झूटा देवताहरुको निम्ति आफ्नै बालबच्चाको समेत बलि दिए। यहूदाका धेरैजसो मानिसहरुले पनि परमेश्वरको बिरुद्धमा बिद्रोह गरे र अरु देवहरुलाई पूजे।