अब्राहम बृद्ध हुँदा, उनका छोरा, इसहाक, एक परिपक्व मानिस भैसकेका थिए। त्यसैले अब्राहमले आफ्नो एक नोकरलाई आफ्ना आफन्तहरु भएको देशमा गई इसहाकको निम्ति एउटी श्रीमती खोजेर ल्याउन पठाए।
अब्राहमका आफन्तहरु बस्ने देशको लामो यात्रा पश्चात, परमेश्वरले त्यस नोकरलाई रिबेका नाउँकी एकजना स्त्रीकहाँ ल्याउनुभयो। उनी अब्राहमका भाईकी नातिनी थिइन्।
रिबेका आफ्ना परिवारलाई छाडी त्यस नोकरसँग इसहाकको घरमा जान राजी भइन्। उनी पुग्ने बित्तिकै इसहाकले उनीसँग बिवाह गरे।
धेरै समयपछि, अब्राहमको मृत्यु भयो अनि परमेश्वरले उनीसँग बाँध्नुभएको सबै करार अब इसहाकमा सर्यो। परमेश्वरले अब्राहमका असंख्य सन्तान हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो, तर इसहाककी पत्नी रिबेकाको कुनै सन्तान हुनसकेको थिएन।
इसहाकले रिबेकाको निम्ति प्रार्थना गरे, अनि परमेश्वरले उनको कोखमा जुडुवा बच्चाहरु दिनुभयो। ती दुई बच्चाहरुले रिबेकको गर्भभित्र हुदैँ एक-अर्कासँग लडन्त गर्न लागे, त्यसैले रिबेकाले परमेश्वरसँग यो के भइरहेको हो भनी सोधिन् |
परमेश्वरले रिबेकालाई भन्नुभयो, “तिमीभित्र भएका यी दुई छोराहरुबाट दुई राष्ट्रहरु आउनेछन्। तिनीहरु एक-अापसमा लड्नेछन् र जेठा छोराले कान्छा छोराको सेवा गर्नेछ।”
जब रिबेकाको छोराहरु जन्मिए, जेठो छोरा रातो र रौँ नै रौँ भएको थियो अनि तिनीहरुले त्यसको नाउँ एसाव राखे। तर कान्छाचाहिँ आफ्ना हातले जेठाको कुर्कुच्चा समात्दै निस्क्यो र तिनीहरुले त्यसको नाउँ याकुब राखे।