Open Bible Stories Home

१६. छुटकारा दिनेहरु

बाइबलको कथा: न्यायकर्ता १-३; ६-८ बाट

येहोशूको मृत्युपछि, इस्राएलीहरु अनाज्ञाकारी भए अनि बाँकी रहेका कनानीहरुलाई न त्यहाँबाट धपाए न ता परमेश्वरको आज्ञा नै माने। इस्राएलीहरुले याह्वे, एउटै साँचो परमेश्वरलाई पूज्नको साट्टो कनानी देवहरुलाई पूज्न थाले। इस्राएलीहरुको कुनै राजा थिएन, त्यसैले सबैले आफूलाई जे ठिक लाग्छ, त्यही गरे।

परमेश्वरलाई अटेर गरिनै रहेका हुनाले उहाँले शत्रुहरुलाई इस्राएलीहरुमाथि विजय दिएर दण्ड दिनुभयो। यी शत्रुहरुले इस्राएलीहरुका सामानहरु लुटे, तिनीहरुका सम्पतिहरु नाश गरिदिए र धेरैलाई मारिदिए। धेरै वर्षसम्म परमेश्वरको अनाज्ञाकारी भएकाले र आफ्ना शत्रुहरुद्वारा थिचोमिचोमा परेकाले, इस्राएलीहरुले पश्चाताप गरे र छुटकाराको निम्ति परमेश्वरलाई प्रार्थना गरे।

अनि परमेश्वरले तिनीहरुका निम्ति एकजना छुटकारा दिने मनिस पठाइदिनुभयो, जसले तिनीहरुलाई शत्रुहरुबाट बचाए र देशमा शान्ति ल्याए। तर फेरि मानिसहरुले परमेश्वरलाई भुले र मूर्तिहरु पूज्न शुरु गरे। त्यसैले परमेश्वरले मिध्धानीहरु(नजिकै बस्ने एक जाति जो इस्राएलीहरुका शत्रु थिए)लाई तिनीहरुमाथि विजयी हुनदिनुभयो।

सात वर्षसम्म मिध्धानीहरुले इस्राएलीहरुका सबै अन्नबाली लगे। इस्राएलीहरु यति त्रसित थिए कि मिध्धानीहरुले आफूलाई नभेट्टाऊन् भनेर तिनीहरु गुफाहरुमा लुक्ने गर्दथे। आखिरमा तिनीहरुले बचाऊको निम्ति परमेश्वरलाई पुकारे।

एकदिन, गिदोन नाउँ भएका इस्राएलका एकजना मानिस गुप्त रुपमा अन्न कुट्दै थिए ताकि मिध्धानीहरु आएर लुट्न नपाऊन्। त्यसैबेला याह्वेको एक दूत गिदोनकहाँ आएर भने, “परमेश्वर तँसँग हुनुहुन्छ, वीर योद्धा। जा र इस्राएललाई मिध्धानीहरुबाट बचा।”

गिदोनका बुवाकहाँ मूर्तिलाई अर्पण गरी बनाइएको एउटा वेदी थियो। परमेश्वरले गिदोनलाई त्यस मूर्तिलाई भत्काउन लगाउनुभयो। तर गिदोन मानिसहरुदेखि डराएका थिए, त्यसैले रात नपरुञ्जेल उनले पर्खिरहे। अनि उनले त्यस वेदिलाई भत्काइदिए र त्यसलाई टुक्रा-टुक्रा पारिदिए। उनले मूर्तिको निम्ति बनाइएको वेदिको नजिकै परमेश्वरको निम्ति एउटा नयाँ वेदि बनाए र परमेश्वरको निम्ति बली चढाए।

अर्को बिहान कसैले तिनीहरुको वेदि भत्काइदिएको मानिसहरुले देखे र उनीहरु ज्यादै रिसाए। गिदोनलाई मार्नको निम्ति तिनीहरु उसको घर गए, तर उनका बुवाले तिनीहरुलाई भने, “तिमीहरु किन आफ्ना देवतालाई सहयोग गर्न खोज्छौ? यदी ऊ देवता हो भनेता, उसले आफैँलाई बचाओस्!” तिनले यसो भनेको कारण मानिसहरुले गिदोनलाई छोडीदिए।

त्यसपछि मिध्धानीहरु फेरि इस्राएलीहरुलाई लुट्न आए। तिनीहरु यति धेरै थिए कि तिनीहरुलाई गन्न पनि साध्यै थिएन। तिनीहरुसँग लडाईं गर्नको निम्ति गिदोनले इस्राएलीहरुलाई एकसाथ भेला गरे। गिदोनले परमेश्वरसँग दुईवटा चिन्हहरु मागे ताकि इस्राएलको बचाऊको लागि परमेश्वरले उसलाई चलाउनुभएको हो भनी ऊ निश्चित हुन सकोस्।

पहिलो चिन्हको लागि, गिदोनले एउटा कपडा भुँईमा ओछ्याए र परमेश्वरलाई बिहानको शीत भुँईमा नभईकन केवल त्यस कपडामा मात्र पारिदिनहुन अनुरोध गरे। परमेश्वरले त्यसै गरिदिनुभयो। अर्को पटकचाहिँ उनले भुँई भिजाइदिनुहुन र कपडालाईचाहिँ सुख्खा पारिदिनुहुन परमेश्वरलाई अनुरोध गरे। परमेश्वरले त्यो पनि गरिदिनुभयो। यी दुई चिन्हहरुले गिदोनलाई मिध्धानीहरुबाट इस्राएलीहरुलाई बचाउनको निम्ति परमेश्वरले नै उसलाई चलाउनुभएको हो भनि विश्वस्त गरायो।

३२,००० इस्राएली सैनिकहरु गिदोनकहाँ आए, तर परमेश्वरले उसलाई यो संख्या ज्यादै धेरै भयो भन्नुभयो। त्यसैले गिदोनले लडाईं गर्न डराएका २२,००० जनालाई घर पठाईदिए। परमेश्वरले गिदोनलाई मानिसहरुको संख्या अझै धेरै भएको बताउनुभयो। त्यसैले गिदोनले ३०० सैनिकहरुलाई बाहेक बाँकी सबैलाई घर पठाईदिए।

त्यस रात परमेश्वरले गिदोनलाई भन्नुभयो, “मिध्धानीहरुको शिविरमा जा र जब तैँले तिनीहरुले भनेको कुरा सुन्नेछस्, तँ फेरि डराउनेछैनस्।” त्यसकारण त्यस रात गिदोन तल शिविरमा झरे अनि एकजना मिध्धानी सैनिकले आफ्ना मित्रलाई सपनामा देखेका केही कुराहरु भन्दै गरेको सुने। त्यस व्यक्तिले यसो भनिरहेका थिए, “यो सपनाको मतलब हो, गिदोनका फौजले मध्धानी फौजलाई परास्त गर्नेछन्!” जब गिदोनले त्यो सुने, उनले परमेश्वरको आराधना गरे।

त्यसपछि गिदोन आफ्ना सैनिकहरुकहाँ फर्के र प्रत्येकलाई एक-एकवटा तुरही, माटाको गाग्रो र राँको दिए। तिनीहरुले मिध्धानीहरु सुतिरहेको शिविरलाई घेरा हाले। गिदोनका ३०० मानिसहरुले आफ्ना राँकोहरु गाग्रोभित्र राखेका थिए ताकि मिध्धानीहरुले राँकोको प्रकाश देख्न नसकून्।

अनि गिदोनका सबै सैनिकहरुले एकैपटक राँको देखाउँदै आफ्ना गाग्राहरु फुटाए। तिनीहरुले आफ्ना तुरहीहरु फुके र कराए, “याह्वे र गिदोनको निम्ति तरवार!”

परमेश्वरले मिध्धानीहरुलाई अन्योलमा पारिदिनुभयो, त्यसैले तिनीहरुले आक्रमण गर्न थाले र एक-अर्कालाई मार्न लागे। तुरुन्तै अरु इस्राएलीहरुलाई तिनीहरुका घरहरुबाट मिध्धानीहरुलाई खेद्न बोलाइयो। तिनीहरुले थुप्रैलाई मारे र बाँकी रहेकाहरुलाई इस्राएलीहरुको भूमिबाट बाहिर धपाइदिए। त्यस दिन १,२०,००० मिध्धानीहरु मरे। इस्राएललाई परमेश्वरले बचाउनुभएको थियो।

मानिसहरुले गिदोनलाई तिनीहरुका राजा बनाउन चाहेका थिए। गिदोनले तिनीहरुलाई त्यसो गर्न दिएनन्, तर तिनीहरुले मिध्धानीहरुबाट लिएका सूनका केही औँठीहरु मागे। मानिसहरुले गिदोनलाई धेरै मात्रामा सून दिए।

अनि गिदोनले ती सूनलाई प्रधान पुजाहारीले लगाउनेजस्तै एक विशेष वस्त्र बनाउनको निम्ति प्रयोग गरे। तर मानिसहरुले त्यसलाई पूज्न थाले मानौँ कि त्यो एक मूर्ति नै थियो। त्यसैले परमेश्वरले फेरि इस्राएललाई दण्ड दिनुभयो किनकी तिनीहरुले मूर्तिलाई पूजे। परमेश्वरले तिनीहरुका शत्रुहरुलाई उनीहरुमाथि विजयी हुनदिनुभयो। आखिरमा तिनीहरुले परमेश्वरलाई साहयताको निम्ति पुकारे, अनि परमेश्वरले तिनीहरुलाई अर्को एकजना छुटकारा दिने मानिस पठाइदिनुभयो।

यसप्रकारको खाका धेरैपटक दोह्रियो: इस्राएलीहरुले पाप गर्थे, परमेश्वरले तिनीहरुलाई दण्ड दिनुहुन्थ्यो, तिनीहरुले पश्चाताप गर्थे र परमेश्वरले तिनीहरुलाई बचाउनको निम्ति छुटकारा दिने मानिसहरु पठाउनुहुन्थ्यो। धेरै वर्षको अन्तरालमा, परमेश्वरले धेरै छुटकारा दिनेहरु पठाउनुभयो जसले इस्राएलीहरुलाई तिनीहरुका शत्रुहरुबाट बचाए।

अन्त्यमा, मानिसहरुले अरु राष्ट्रहरुमा भएझैँ परमेश्वरसँग एकजना राजाको माग गरे। तिनीहरु यस्तो राजा चाहान्थे जो अग्ला र बलिया हुन्, अनि तिनीहरुलाई लडाईंमा अगुवाई गर्न सकून्। परमेश्वरलाई यो अनुरोध मन पराउनु भएको थिएन तरपनि उहाँले तिनीहरुलाई खोजेजस्तै राजा दिनुभयो।

Next Chapter