एकदिन, एकजना धनी जवान शासक येशूकहाँ आए र सोधे, “असल गुरु, अनन्तको जीवन पाउनको निम्ति मैले के गर्नुपर्छ?” येशूले उसलाई भन्नुभयो, “किन तिमी मलाई ‘असल’ भन्दछौ? त्यहाँ केवल एकजना मात्रै हुनुहुन्छ जो असल हुनुहुन्छ, अनि त्योचाहिँ परमेश्वर हुनुहुन्छ। तर यदि तिमी अनन्तको जीवन चाहान्छौ भने, परमेश्वरका आज्ञाहरुको पालन गर।”
“तीमध्ये कुन-कुन चाहिँ मैले पालन गर्नुपर्छ?” उसले सोध्यो। येशूले भन्नुभयो, “हत्या नगर्नु। व्यभिचार नगर्नु। नचोर्नु। झुटो नबोल्नु। आफ्नो आमा-बुवाको आदर गर्नु, र आफ्नो छिमेकीलाई तिमीले आफैँलाई प्रेम गरेझैँ प्रेम गर्नु।”
तर त्यस जवान मानिसले आफैलाई ठिक प्रमाणित गर्नको निम्ति भन्यो, “मैले यी सबै आज्ञाहरु म सानो केटो छँदादेखि नै गर्दै आएको छु। मैले अझै के गर्नुपर्छ ताकि म सदाको निम्ति जीऊन सकूँ?” येशूले त्यस मानिसलाई हेर्नुभयो र टिठाउनुभयो।
येशूले जवाफ दिनुभयो, “यदि तिमी सिद्ध हुन चाहान्छौ भने, जाऊ र तिमीसँग भएका सबै थोक बेच अनि त्यसबाट आएको पैसा गरिबहरुलाई देऊ, र स्वर्गमा तिमीले धन पाउनेछौ। त्यसपछि आऊ र मलाई पछ्याऊ।”
जब त्यस जवान मानिसले येशूले भन्नुभएको कुरा सुने, उनी ज्यादै दुःखी भए, किनकी उनी ज्यादै धनी थिए अनि आफूले अधिकार जमाएको सारा थोक दिन चाहेनन्। उनी फर्के र त्यहाँबाट गए।
अनि येशूले उहाँका चेलाहरुलाई भन्नुभयो, “धनी मानिसहरुलाई परमेश्वरको राज्यमा छिर्न ज्यादै नै कठिन छ! हो, धनी मानिसलाई परमेश्वरको राज्यमा छिर्न भन्दा त एउटा ऊँटलाई सियोको नाथ्रीबाट भएर जान सजिलो हुन्छ।”
जब चेलाहरुले येशूले भन्नुभएको कुरा सुने, उनीहरु छक्क परे अनि भने, “उसोभए कसलेचाहिँ मुक्ति पाउन सक्छ र?”
येशूले ती चेलाहरुतिर हेर्नुभयो र भन्नुभयो, “मानिसहरुका निम्ति यो असम्भव छ, तर परमेश्वरका निम्ति, सबै कुरा सम्भव छन्।”
पत्रुसले येशूलाई भने, “हामीले सबै कुराहरु छाडी तपाईँलाई पछ्याएका छौँ। हाम्रो निम्ति इनाम के हुनेछ?”
येशूले जवाफ दिनुभयो, “जसले मेरो नाउँको खातिर आफ्ना घर, दाजुभाइ, दिदीबहिनी, बुवा, आमा, बच्चा, अथवा धन-सम्पति छोडेका छन्, उनीहरुल सबैले १०० गुणा बढी पाउनेछन् अनि उनीहरुले अनन्त जीवन पनि पाउनेछन्। तर धेरैजना जो पहिला छन्, पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरुचाहिँ पहिला हुनेछन्।