Open Bible Stories Home

३०. येशूले पाँच हजार मानिसहरुलाई खुवाउनुभयो

बाइबलको कथा: मत्ती १४:१३-२१; मर्कूस ६:३१-४४; लूका ९:१०-१७; यूहन्ना ६:५-१५ बाट

मानिसहरुलाई प्रचार गर्न र शिक्षा दिन येशूले आफ्ना चेलाहरुलाई विभिन्न गाँउहरुमा पठाउनुभयो। जब उनीहरु येशू रहनुभएको ठाँउमा फर्केर आए, उनीहरुले गरेका कामहरु उहाँलाई बताइदिए। त्यसपछि येशूले उनीहरुलाई आफूसँग समुद्रको पल्लो छेऊ, एक शान्त ठाँउमा गएर केही समय आराम गर्न बोलाउनुभयो। त्यसैले, उनीहरु एउटा डुंगामा चढे र समुद्रको पल्लो छेऊतर्फ गए।

तर त्यहाँ धेरै मानिसहरु थिए जसले येशू र उहाँका चेलाहरुलाई डुंगामा चढी अन्त्यै जानुभएको देखेका थिए। यी मानिसहरु पनि उहाँहरुभन्दा पहिले समुद्रको पल्लो छेऊमा पुग्ने दाउले किनारै किनार भएर पैदलै दौडे। तसर्थ, जब येशू र चेलाहरु त्यस ठाउँमा आईपुग्नुभयो, मानिसहरुको ठूलो भीड त्यहाँ पहिले नै उहाँहरुलाई पर्खेर बसिरहेको थियो।

त्यस भीडमा स्त्री र बालकहरुलाई नगनिकन, करिब ५,००० भन्दा बढी पुरुषहरु थिए। येशूले ती मानिसहरुलाई ठूलो सहानुभुती देखाउनुभयो। येशूको निम्ति, ती मानिसहरु गोठालो बिनाका भेडाहरु सरह थिए। त्यसैले उहाँले तिनीहरुलाई शिक्षा दिनुभयो र ती मानिहरुलाई निको पार्नुभयो, जोहरु रोगी थिए।

दिनको अन्त्यतिर, चेलाहरुले येशूलाई भने, “अब त ढिला भइसक्यो र यहाँ नजिकै कुनै वस्तीहरु पनि छैनन्। यी मानिसहरुलाई अन्त्यै पठाइदिनुहोस् ताकि यिनीहरुले खानको निम्ति केही पाउन सकून्।”

तर येशूले चेलाहरुलाई भन्नुभयो, “तिमीहरुले नै यिनीहरुका निम्ति खानाको प्रबन्ध गरिदिनु!” उनीहरुले जवाफ दिए, “त्यो त हामी कसरी गर्न सक्छौँ? हामीसँग त केवल पाँच रोटीका टुक्रा र दुईवटा साना माछाहरु छन्।”

येशूले भीडमा भएका मानिसहरुलाई पचास-पचास जनाको झुण्डमा बस्न लगाउन चेलाहरुलाई अह्राउनुभयो।

अनि येशूले ती रोटीका पाँच टुक्रा र दुईवटा माछा लिनुभयो, माथि स्वर्गतिर हेर्नुभयो, अनि परमेश्वरलाई खानेकुराको निम्ति धन्यवाद दिनुभयो।

त्यसपछि येशूले रोटी र माछालाई टुक्रा टुक्रा पारी भाँच्नुभयो। उहाँले ती टुक्राहरु मानिसहरुलाई बाँडिदिनको निम्ति चेलाहरुलाई दिनुभयो। चेलाहरुले खानेकुरा बाँडिनै राखे, र त्यो कहिल्यै सिद्धिएन! सबै मानिसहरुले खाए र तृप्त भए।

यसो भइसकेपछि, चेलाहरुले उब्रिएका खानेकुरा जम्मा पारे, अनि त्योचाहिँ करिब बाह्र डाला बढी हुनआयो! सबै खानेकुरा पाँच रोटीका टुक्रा र दुईवटा माछाबाट आएको थियो।

Next Chapter