Open Bible Stories Home

३८. येशूलाई धोखा

बाइबलको कथा: मत्ती २६:१४-५६; मर्कूस १४:१०-५०; लूका २२:१-५३; यूहन्ना १२:६; १८:१-११ बाट

हरेक वर्ष, यहूदीहरुले निस्तार चाड मनाउने गर्दथे। यो एक उत्सव थियो जुन कयौँ शताब्दीअघि कसरी परमेश्वरले उनीहरुका पुर्खाहरुलाई मिश्रदेशको दासत्वबाट बचाउनुभएको थियो भन्ने सम्झनामा मनाइने गरिन्थ्यो। येशूले पहिलो पटक खुला रुपमा प्रचार र शिक्षा दिन थाल्नुभएको करिब तीन वर्षपछि, उहाँले आफ्ना चेलाहरुलाई उनीहरुसँग येरुशलेममा निस्तार चाड मनाउन चाहानुभएको कुरा भन्नुभयो, अनि यो पनि भन्नुभयो कि उहाँ त्यहाँ मारिनुहुनेथियो।

येशूका चेलाहरुमध्ये यहूदा नाउँ गरेका एकजना मानिस थिए। यहूदा चेलाहरुका पैसाको थैलीको जिम्मेवाल थिए, तर उनी पैसालाई प्रेम गर्दथे र अक्सर थैलीबाट पैसा चोर्ने गर्दथे। येशू र चेलाहरु यरुशलेममा आईपुग्नुभएपछि, यहूदा यहूदी अगुवाहरुकहाँ गए र पैसामा येशूलाई धोका दिने प्रस्ताव राखे। यहूदी अगुवाहरुले येशू मसिह हुनुहुन्छ भनी अस्वीकार गर्थे र उहाँलाई मार्ने षडयन्त्र रचिरहेका थिए भन्ने कुरा उसलाई थाहा थियो।

प्रधान पुजाहारीको नेतृत्वमा, यहूदी अगुवाहरुले येशूलाई विश्वासघात गर्नको निम्ति यहूदालाई तीस चाँदीका सिक्काहरु दिए। अगमवक्ताहरुले भविष्यवाणी गरेजस्तै यो कुरा हुनआयो। यहूदाले यस कुरामा मञ्जुर गरे, पैसा लिए, र त्यहाँबाट गए अनि येशूलाई पक्रन सहयता गर्नको निम्ति मौकाहरु खोज्न थाले।

यरुशलेममा, येशूले आफ्ना चेलाहरुसँग निस्तार चाड मनाउनुभयो। निस्तार चाडको भोजको समयमा, येशूले केही रोटीहरु लिनुभयो र त्यसलाई भाँच्नुभयो। उहाँले भन्नुभयो, “यो लेओ र खाओ। योचाहिँ मेरो शरीर हो, जुन तिमीहरुका निम्ति दिइएको छ। यो मेरो सम्झनामा गर्ने गर।” यसप्रकारले, येशूले भन्नुभयो कि उहाँको शरीर उनीहरुका निम्ति बलिदान हुनेछ।

अनि येशूले एउटा कचौरा लिनुभयो र भन्नुभयो, “यो पिओ। यो नयाँ करारको मेरो रगत हो जुन पापहरुका क्षमाको निम्ति बहेको छ। तिमीहरुले हरेक पटक यो पिउँदा मेरो सम्झनामा गर्ने गर।”

त्यसपछि येशूले चेलाहरुलाई भन्नुभयो, “तिमीहरुमध्ये एकजनाले मलाई धोका दिनेछौ।” चेलाहरु छक्क परे, र कसले त्यस प्रकारको काम गर्छ भनी सोधे। येशूले भन्नुभयो, “त्यस व्यक्ति जसलाई म रोटीको यस टुक्रा दिन्छु, त्यो नै विश्वासघाती हो।” अनि येशूले त्यस रोटीको टु्क्रा यहूदालाई दिनुभयो।

यहूदाले रोटी लिएपछि, शैतान ऊभित्र पस्यो। यहूदा त्यहाँबाट निस्के र येशूलाई पक्राउन साहयता गर्नको निम्ति यहूदी अगुवाहरुकहाँ गए। त्यो रातको समय थियो।

भोजनपछि, येशू र उहाँका चेलाहरु हिँड्दै जैतूनको डाँडामा जानुभयो। येशूले भन्नुभयो, “तिमीहरुले आज राती मलाई त्यागनेछौ। जसै लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र सबै भेडाहरु तितर-बितर हुनेछन्।’”

पत्रुसले जवाफ दिए, “अरु सबैले तपाईँलाई त्यागेतापनि, म त्याग्नेछैन!” अनि येशूले पत्रुसलाई भन्नुभयो, “शैतानले तिमीहरु सबैलाई चाहान्छ, तर मैले तिमीहरुको निम्ति प्रार्थना गरिदिएको छु, पत्रुस, कि तिम्रो विश्वास चुक्नेछैन। तापनि, आज राती, भाले बास्नभन्दा अघि, तिमीले मलाई चिन्दिन भनी तीन पटक इन्कार गर्नेछौ।”

अनि पत्रुसले येशूलाई भने, “म मर्नुपरेतापनि, म कहिल्यै तपाईँलाई इन्कार गर्नेछैन!” अरु सबै चेलाहरुले पनि त्यसै भने।

अनि येशू उहाँका चेलाहरुसँग गेतसमनी भनिने ठाउँमा जानुभयो। येशूले उहाँका चेलाहरुलाई प्रार्थना गर्न भन्नुभयो ताकि उनीहरु परीक्षामा नपरुन्। अनि येशू आफैँ प्रार्थना गर्न जानुभयो।

येशूले तीन पटक प्रार्थना गर्नुभयो, “मेरा पिता, यदि सम्भव छ भने, कृपया मलाई यस कचौराको कष्ट पिउन नपरोस्। तर मानिसहरुका पाप-क्षमाको निम्ति त्यहाँ अरु कुनै बाटो छैन भने, तपाईँको इच्छा पुरा भएको होस्।” येशू ज्यादै विचलित हुनुहुन्थ्यो र उहाँका पसिना रगतका थोपाझैँ थिए। परमेश्वरले एक स्वर्गदूतलाई उहाँकहाँ शक्ति दिनलाई पठाइदिनुभयो।

हरेक प्रार्थनाको समयपछि, येशू उहाँका चेलाहरुकहाँ फर्किआउनुभयो, तर उनीहरु निदाइरहेका थिए। जब उहाँ तेस्रो पटक फर्कनुभयो, येशूले भन्नुभयो, “उठ! मलाई धोका दिने यहाँ आइपुगेको छ।”

यहूदा यहूदी अगुवाहरु, सैनिकहरु र तरवार र लाठो बोकिरहेका ठूलो भीडको साथमा आए। उनी येशूकहाँ आए र भने, “प्रणाम, गुरुज्यू,” अनि उहाँलाई चुम्बन गरे। योचाहिँ यहूदी अगुवाहरुलाई उनीहरुले कसलाई पक्रनुपर्ने हो भनी ठम्याउनको निम्ति संकेत थियो। अनि येशूले भन्नुभयो, “यहूदा, के एक चुम्बनले तिमी मलाई धोका दिन्छौ?”

जसै सेनाहरुले येशूलाई पक्रे, पत्रुसले आफ्नो तरवार निकाले र प्रधान-पुजाहारीको नोकरहरुमध्ये एकजनाको कान काटिदिए। येशूले भन्नुभयो, “तरवार परै राख! मेरो रक्षाको निम्ति मैले पितालाई स्वर्गदूतहरुको फौज नै माग्न सक्नेथिँए। तर मैले मेरा पिताको आज्ञा मान्नै पर्छ।” अनि येशूले त्यस मानिसको कान निको पारिदिनुभयो। येशू पक्राऊ पर्नुभएपछि, सबै चेलाहरु भागे।

Next Chapter