Open Bible Stories Home

२७. असल सामरीको कथा

बाइबलको कथाः लूका १०:२५-३७ बाट

एकदिन, यहूदी व्यवस्थाका निपुण एकजना गुरु येशूकहाँ उहाँको परीक्षा गर्न यसो भनी आए, “गरुज्यू, अनन्त जीवनको हकदार हुन म के गरुँ?” येशूले जवाफ दिनुभयो, “परमेश्वरको व्यवस्थामा के लेखिएको छ?”

त्यस व्यवस्थाका निपुण मानिसले परमेश्वरको व्यवस्थाले यसो भन्छ भनी जवाफ दिए, “तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा बलले र आफ्नो समझले प्रेम गर; अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तो प्रेम गर।” येशूले जवाफ दिनुभयो, “तिमीले ठिक भन्यौ! त्यसै गर र तिमी बाँच्नेछौ।”

तर त्यस व्यवस्थाको निपुण मानिसले आफैँलाई धर्मी ठहराउन चाह्यो, त्यसैले उसले सोध्यो, “मेरो छिमेकी को हो?”

येशूले त्यस मानिसलाई एउटा कथा भनेर जवाफ दिनुभयो, “एकजना यहूदी मानिस यरुशलेमको बाटो भएर यरिहोतर्फ जाँदै थिए।”

“यात्रा गर्दैगर्दा, त्यस मानिस लुटेराहरुको एक समुहद्वारा लुटियो। तिनीहरुले ऊसँग भएका सबै थोकहरु लगे र उसलाई अधमरो अवस्थाको नभएसम्म कुटे। त्यसपछि तिनीहरुले त्यस मानिसलाई त्यहाँबाट छाडेर गए।”

“त्यसको केहीछिनपछि नै, एकजना यहूदी पूजाहारी पनि संयोगवश त्यही बाटो भएर जाँदै थिए। जब यस धार्मिक अगुवाले त्यस लुटिएको र घायल पारिएको मानिसलाई देखे, उनी बाटोको पल्लो छेऊतिर गए, त्यस साहयता चाहिएको मानिसबाट तर्के, र आफ्नो बाटो लागे।”

“त्यसो भएको धेरै समय नबित्दै, एकजना लेवी त्यस बाटोमा झरे। (लेवीहरु यहूदीहरुका एक कूल थिए जसले मन्दिरमा पूजाहारीहरुको साहयता गर्दथे।) त्यस लेवी पनि बाटोको पल्लो छेऊतिर गए र त्यस मानिसको वास्ता गरेनन् जो लुटिएको र घायल परिएको थियो।”

“त्यस बाटोबाट भएर जाने अर्को व्यक्ति एकजना सामरी थिए। (सामरीहरु यहूदीहरुका ती सन्तानहरु थिए जसले अरु राष्ट्रका मानिसहरुलाई बिवाह गरेका थिए। सामरीहरु र यहूदीहरुले एक-अर्कालाई घृणा गर्दथे।) तर जब त्यस सामरीले त्यस यहूदी मानिसलाई देखे, उनको मन दयाको भावले भरियो। त्यसैले उनले त्यस यहूदीप्रति सहानुभुती देखाए र उनका घाउहरुमा पट्टी लगाइदिए।”

“अनि त्यस सामरीले त्यस यहूदीलाई आफ्नो गधामाथि चढायो र उसलाई बाटोछेऊको एक पौवामा लग्यो जहाँ त्यस सामरीले उसको स्यहार गर्यो।”

“अर्को दिन, त्यस सामरीले आफ्नो यात्रालाई निरन्तरता दिनुपर्ने थियो। उसले त्यहाँको पौवालीलाई केही पैसा दिए र भने, ‘उसको ख्याल गर्नु, अनि यदि तिमीलाई यो भन्दा बढि खर्च लागेमा, जब म फर्केर आउँनेछु, सो खर्च तिरिदिनेछु।’”

त्यसपछि येशूले व्यवस्थाका त्यस निपुण व्यक्तिलाई सोध्नुभयो, “तिमीलाई के लाग्छ? ती तीनमध्ये कोचाहिँ त्यस लुटिएको र घायल पारिएको मानिसको छिमेकी हो?” उसले जवाफ दियो, “त्यही, जो उनीप्रति दयालु थियो।” येशूले तिनलाई भन्नुभयो, तिमी पनि जाऊ र त्यसै गर।"

Next Chapter