एकदिन, येशूले उहाँका तीनजना चेलाहरु; पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लैजानुभयो। (यूहन्ना नाउँ गरेका चेला येशूलाई बप्तिस्मा दिने व्यक्ति होइनन्।) उनीहरु एक अग्लो पहाडमाथि प्रार्थना गर्न गए।
जसै येशू प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार सूर्यझैँ चकिलो भयो र उहाँका कपडा ज्योतिझैँ सेतो भयो, यस्तो कि पृथ्वीमा कुनै मानिसले त्यस्तो सेतो पार्नसक्दैन।
त्यसपछि त्यहाँ मोशा र एलिया अगमवक्ता देखा परे। यी मानिसहरु पृथ्वीमा बाँचेको यस घटना हुनुभन्दा सयौँ वर्षअगाडी थियो। उनीहरुले येशूसँग उहाँको मृत्युको बारेमा कुरा गरे, जुन चाँडै नै यरुशलेममा हुनेवाला थियो।
जसै मोशा र एलिया येशूसँग बातचित गरिरहेका थिए, पत्रुसले येशूलाई भने, “हामीलाई यहीँ रहनु असल छ। हामी तीनवटा बासस्थानहरु बनाऔँ, एउटा तपाईँको लागि, एउटा मोशाको लागि, र एउटा एलियाको लागि।” पत्रुसलाई आफू के भन्दैछन् सो थाहा थिएन।
जसै पत्रुस बोल्दै थिए, एउटा उज्यालो बादल तल आयो र उनीहरुलाई घेर्यो र बादलबाट एक आवाजले यसो भन्यो, “यिनी मेरा पुत्र हुन् जसलाई म प्रेम गर्छु। म ऊसँग प्रसन्न छु। उसको कुरा सुन्नु।” ती तीन चेलाहरु डराए र भुईँमा लडे।
अनि येशूले तिनीहरुलाई छुनुभयो र भन्नुभयो, “नडराओ। उठ।” जब तिनीहरुले वरिपरि हेरे, त्यहाँ केवल येशूमात्र हुनुहुन्थ्यो।
येशू र तीन चेलाहरु फेरी पहाडबाट तल झर्नुभयो। अनि येशूले तिनीहरुलाई भन्नुभयो, “यहाँ भएको घटनाको बारेमा अहिले कसैलाई केही नभन्नु। चाडैँनै म मर्नेछु र त्यसपछि फेरि जीवित हुनेछु। त्यसो भइसकेपछि, तिमीहरुले मानिसहरुलाई भन्न सक्नेछौ।”