जसै ती बालकहरु हुर्किदै गए, याकूब घरमै बस्न रुचाउँथे, तर एसावलाईचाहिँ शिकार गर्न मनपर्थ्यो। रिबेका यकूबलाई माया गर्थिन्, तर इसहाकले एसावलाई माया गर्थे।
एकदिन, जब एसाव शिकारबाट घर फर्के, उनी साह्रै भोकाएका थिए। एसावले याकूबलाई भने,“तिमिले बनाएको केहि खानेकुरा मलाई पनि देउन?” याकूबले जवाफ दिए, “पहिले तपाईँको ज्येष्ठ अधिकार मलाई दिनुहोस्।” अनि एसावले आफ्नो ज्येष्ठ अधिकार याकूबलाई दिए र याकूबले उनलाई केहि खानेकुरा दिए।
इसहाकले आफ्नो आशिष् एसावलाई दिन चाहन्थे। तर उनले त्यसो गर्नुभन्दा अघि, रिबेका र याकूब मिले र याकूबले आफू एसावजस्तै बनेको बहाना गरेर उनलाई झुक्याए। इसहाक बृद्ध भैसकेका थिए र केहि देख्न सक्दैन थिए। याकूबले एसावको लूगा लगाए र बाख्राका पाठाका छालाले आफ्नो घाँटी र हातहरुमा टाले।
याकूब इसहाककहाँ आए र भने, “म एसाव हुँ। तपाईँको आशिष् थाप्न म आएको छु।” जब इसहाकले बाख्राको रौँ महसुस गरे र लुगाहरुको बास्ना चाल पाए, त्यो एसाव नै हुनुपर्छ भन्ने उनले ठाने।
एसावले याकूबलाई घृणा गर्थे किनकी याकूबले उसको ज्येष्ठ अधिकार र उसले पाउनुपर्ने आशिष् खोसेका थिए। त्यसैले उनले बुवाको मृत्युपछि याकूबलाई मार्ने योजना बनाए।
तर रिबेकाले एसावको योजनाको बारेमा चाल पाइन्। त्यसैले इसहाक र रिबेकाले याकूबलाई त्यस ठाउँबाट टाढा आफ्ना आफन्तहरुकहाँ पठाइदिए।
याकूब धेरै वर्षसम्म रिबेकाको घरानासँग बसे। त्यो समयावधिमा उनले बिवाह गरिसकेका थिए र उनका बाह्रजना छोराहरु र एउटी छोरी थिए। परमेश्वरले उनलाई ज्यादै धनी बनाउनुभएको थियो।
बीस वर्षसम्म आफ्नो घर कनान भन्दा टाढा बसिसकेपछि, याकूब आफ्नो परिवार, आफ्ना नोकरहरु र आफ्ना सारा गाईवस्तु साथमा लिएर कनान फर्के।
याकूब ज्यादै डराएका थिए किनकी एसावले उनलाई अझैँ मार्न चाहान्छन् भनी उनले सोचेका थिए। त्यसैले याकूबले धेरै गाईवस्तु उपहार स्वरुप एसावकहाँ पठाए। गाईवस्तु लिएर गएका नोकरहरुले एसावलाई भने, “तपाईँको दास, याकूबले तपाईँलाई यी गाईवस्तु पठाउनुभएको छ। उहाँ चाँडै नै आउँदै हुनुहुन्छ।”
तर एसावले याकूबलाई पहिल्यै क्षमा दिइसकेका थिए अनि उनीहरु एक-अर्कालाई फेरि देख्न पाउँदा खुशी थिए। अनि याकूब कनानमा शान्तिसँग बसे। त्यसपछि इसहाक मरे, अनि याकूब र एसावले उनलाई गाडे। परमेश्वरले अब्राहमसँग वाचा गर्नुभएको करार अब इसहाकबाट याकूबमा सह्रयो।