Open Bible Stories Home

१५. प्रतिज्ञाको मुलुक

बाइबलको कथा: येहोशू १-२४ बाट

अन्तत, इस्राएलीहरुको कनानभित्र प्रवेश गर्ने समय आएको थियो, प्रतिज्ञाको मुलुकमा। येहोशूले दुईजना जासुसहरुलाई कनानी सहर यरीहोमा पठाए, जुन बलिया किल्लाहरुद्वारा संरक्षित थियो। त्यस सहरमा राहाब नाउँ गरेकी एकजना व्यभिचारी स्त्री बस्थिन् जसले ती जासुसहरुलाई लुक्न र पछि तिनीहरुलाई भाग्न साहयता गरिन्। उनले परमेश्वरमाथि विश्वास गरेको कारणले यी सबै कार्यहरु गरिन्। तिनीहरुले यरीहो सहरलाई ध्वस्त पार्दा राहाब र उनको परिवारलाईचाहिँ सुरक्षित राख्ने वाचा गरे।

इस्राएलीहरु प्रतिज्ञाको मुलुकभित्र पस्नु अघि यर्दन नदी पार गर्नुपर्ने थियो। परमेश्वरले येहोशूलाई भन्नुभयो, “पहिला पुजाहारीहरुलाई जान देऊ”। जब पुजाहारीहरु यर्दन नदीभित्र पसे, प्रतिकुल बगिरहेको पानी बहन रोकियो त्यसकारण इस्राएलीहरु अब नदीको पल्लो छेऊ, सुख्खा भुमितर्फ जान सके।

यर्दन नदी पार गरिसकेपछि, परमेश्वरले येहोशूलाई यरीहोको शक्तिशाली सहरमाथि आक्रमण गर्ने तरिका बताइदिनुभयो। मानिसहरुले परमेश्वरको आज्ञापालन गरे। परमेश्वरले भन्नुभएजस्तै, सिपाहीहरु र पुजाहारीहरुले छ दिनसम्म लगातार यरीहोको शहरलाई घेरा हाली त्यसको वरिपरि परिक्रमा गरे।

अनि सातौँ दिनमा इस्राएलीहरुले अरु सात पटक सहरको वरिपरि परिक्रमा गरे। जब तिनीहरुले अन्तिम पटक सहरको परिक्रमा गर्दै थिए, सैनिकहरुले चर्को स्वरले कराए र पुजाहारीहरुले आफ्ना बिगुल फुके।

अनि यरीहोका चारैपट्टिका पर्खालहरु ढले। इस्राएलीहरुले परमेश्वरले भन्नुभएजस्तै सहरमा भएका सबै थोकहरु नष्ट गरे। तिनीहरुले केवल राहाब अनि उनका परिवारलाई मात्र छोडिदिए, जोहरु पछि गएर इस्राएलीहरुकै हिस्सा बने। जब कनानमा बसिरहेका अरु मानिसहरुले इस्राएलीहरुद्वारा यरीहो सहर ध्वस्त पारिएको थाहा पाए, इस्राएलीहरुले अब तिनीहरुलाई पनि आक्रमण गर्नेछन् भनी तिनीहरु भयभित भए।

परमेश्वरले इस्राएलीहरुलाई कनानमा बसोबास गरिरहेका कुनैपनि समुहका मानिसहरुसँग कुनै पनि सन्धि नगर्न आज्ञा दिनुभएको थियो। तर कनानका एक गिबोनी नाउँ गरेका जातका मानिसहरुले येहोशूप्रति छल गरे र आफूहरु कनान देशभन्दा टाढा ठाउँबाट आएका हुन् भनी ढाँटे। तिनीहरुले येहोशूसँग शान्ति-सन्धि गर्न प्रस्ताव राखे। येहोशू र इस्राएलीहरुले परमेश्वरलाई ती गिबोनीहरु कहाँबाट आएका हुन् भनी सोधेनन्। अनि येहोशूले तिनीहरुसँग शान्ति-सन्धि गरे।

जब इस्राएलीहरुले आफूहरु ती गिबोनीहरुद्वारा छलिएको थाहा पाए, तिनीहरु अत्यन्तै क्रोधित भए, तर तिनीहरुसँग राखेको सन्धि कायमै राखे किनभने त्योचाहिँ परमेश्वरको अघि गरिएको प्रतिज्ञा थियो। केहि समयपछि, कनानमा भएका अरु जातिका राजा, अम्मोरीहरुले, गिबोनीहरुले इस्राएलीहरुसँग शान्ति-सन्धि गरेको सुने, त्यसैले तिनीहरुले आफ्ना सैनिकहरुलाई एकिकृत गरेर एउटा विशाल फौज बनाए र गिबोनमाथि आक्रमण गरे। गिबोनीहरुले येहोशूलाई साहयताको निम्ति सन्देश पठाए।

त्यसैले येहोशूले इस्राएलका सैनिकहरुलाई भेला गराए र गिबोनीहरुकहाँ पुग्न पुरै रात हिँडे। झसमिसे उज्यालोमा तिनीहरुले अचानक अम्मोरी फौजहरुमाथि आक्रमण गरे।

त्यस दिन परमेश्वर इस्राएलीहरुको निम्ति लडिदिनुभयो। उहाँले अम्मोरीहरुलाई अन्योलमा पारिदिनुभयो र ठूलाठूला असिनाहरु वर्षाइदिनुभयो, जसद्वारा धेरै अम्मोरीहरु मरे।

परमेश्वरले सूर्यलाई आकाशको एकै ठाउँमा स्थिर पारी राखिदिनुभयो, ताकि इस्राएलीहरुसँग अम्मोरीहरुलाई परास्त गर्नको लागी प्रस्शत समय रहोस्। त्यस दिन, इस्राएलको निम्ति परमेश्वरले महान विजय जित्नुभयो।

परमेश्वरले ती फौजहरुलाई परास्त गर्नुभएपछि कनानका अरु धेरै जातिहरु एककृत भई इस्राएललाई आक्रमण गरे। येहोशू र इस्राएलीहरुले पनि आक्रमण गरे र तिनीहरुलाई ध्वस्त पारे।

यो लडाईंपछि परमेश्वरले इस्राएलका प्रत्येक कूललाई तिनीहरुका आफ्नै प्रान्त प्रतिज्ञा गरिएको मुलुकमा दिनुभयो। अनि परमेश्वरले सारा इस्राएल र त्यसका सीमानामा समेत शान्ति दिनुभयो।

जब येहोशू एक बृद्ध मानिस थिए, उनले इस्राएलका सारा मानिसहरुलाई एकसाथ भेला गराए। अनि उनले ती मानिसहरुलाई सिनै पर्वतमा इस्राएलीहरुसँग परमेश्वरले राख्नुभएको करार पालना गर्नुपर्ने बाध्यताको स्मरण गराए। मानिसहरुले परमेश्वरमा विश्वासयोग्य हुने र उहाँका व्यवस्थाको पालन गर्ने प्रतिज्ञा गरे।

Next Chapter