शाऊल इस्राएलका पहिलो राजा थिए। उनी मानिसहरुले चाहेका जस्तै अग्ला र सुन्दर मानिस थिए। पहिलेका केही वर्ष शाऊल इस्राएलमाथि शासन गर्ने एक असल राजा थिए। तर पछि उनी एक दुष्ट मानिस बने र परमेश्वरको अनाज्ञाकारी भए, त्यसैले परमेश्वरले अर्कै मानिसलाई चुन्नुभयो जो एकदिन उसको सट्टामा राजा हुदैथियो।
परमेश्वरले दाऊद नाउँ गरेको एक जवान इस्राएलीलाई शाऊलपछि राजा हुनको निम्ति चुन्नुभयो। दाऊद बेथलेहम नाउँ गरेको गाँउमा बस्ने एक गोठाला थिए। आफ्ना बुवाका भेडाहरुको हेरचाह गर्दै गरेको फरक-फरक समयको अन्तरालमा उनले आफ्ना भेडाहरुमाथि आक्रमण गर्न खोज्ने सिंह र भालुजस्ता जनावरलाई मारेका थिए। दाऊद नम्र र धर्मी मानिस थिए जसले परमेश्वरमा भर गर्दथिय र उहाँको आज्ञा मान्दथे।
दाऊद एक महान् सिपाही र अगुवा बने। जब दाऊद जवान थिए, उनले गोल्यत नाउँ गरेको एकजना अजङ्गका मानिससँग लडाईं गरे। गोल्यत एक तालिम प्राप्त, ज्यादै बलियो र करिब तीन मिटर जति अग्लो मानिस थियो! तर परमेश्वरले दाऊदलाई गोल्यतलाई मार्न साहयता गर्नुभयो र इस्राएललाई बचाउनुभयो। त्यसपछि, दाऊदले इस्राएलका शत्रुहरुमाथि धेरै विजय प्राप्त गरे, जसकारण उनले मानिसहरुबाट प्रसंसा पाए।
शाऊल दाऊदप्रति मानिसहरुको प्रेमको डाही भए। धरैपटक शाऊलले दाऊदलाई मार्न खोजे, त्यसैले उनी शाऊलदेखि लुके। एकदिन शाऊल दाऊदलाई मार्नको खातिर उनको खोजीमा हिँडीरहेका थिए। शाऊल एउटा गुफाभित्र पसे जहाँ दाऊद उनीबाट लुकेर बसिरहेका थिए, तर शाऊले उनलाई देखेनन्। यतिखेर दाऊद शाऊलको ज्यादै नजिक थिए र उनलाई मार्न पनि सक्थे, तर उनले त्यसो गरेनन्। बरु दाऊदले, उनको हत्या गरि आफू राजा बन्न चाँहादैनथे भनि प्रमाणीत गर्नको निम्ति शाऊलको वस्त्रका केहि भाग च्याते।
आखिरमा, शाऊल लडाईंमा मरे, र दाऊद इस्राएलका राजा भए। उनी एक असल राजा थिए, र मानिसहरुले उनलाई प्रेम गर्दथे। परमेश्वरले दाऊदलाई आशिष् दिनुभयो र उनलाई सफल बनाउनुभयो। दाऊदले धेरै लडाईंहरु लडे र परमेश्वरले उनलाई इस्राएलका शत्रुहरुलाई हराउन साहयता गर्नुभयो। दाऊदले येरुशलेम कब्जा गरे र त्यसलाई उनको राजधानी सहर बनाए। दाऊदको शासनकालमा इस्राएल एक शक्तिशाली र सम्पन्न राष्ट्र बन्यो।
दाऊद एक मन्दिरको निर्माण गर्न चाहान्थे जहाँ सारा इस्राएलीहरुले परमेश्वरको आराधना गर्न सक्थे र उहाँलाई बलिहरु चढाउन सक्थे। करिब ४०० वर्षसम्म मानिसहरुले परमेश्वरको आराधना गर्ने र बलिहरु चढाउने काम भेट हुने पालमा गर्दै आएका थिए, जुन मोशाले निर्माण गरेका थिए।
तर परमेश्वरले नातान नाउँ गरेका एकजना अगमवक्तालाई दाऊदकहाँ यो खबर पठाउनुभयो, “तँ लडाईंको मानिस भएको हुनाले, मेरोनिम्ति तैँले यस मन्दिरको निर्माण गर्नेछैनस्। तेरो छोरोले यसको निर्माण गर्नेछ। तर, म तँलाई प्रशस्त आशिष् दिनेछु। तेरा सन्तानहरुमध्ये एकजनालेचाहिँ सदाको निम्ति राजाको रुपमा मेरा मानिसहरुमाथि राज्य गर्नेछ!” सदा-सर्वदा राज्य गर्नसक्ने दाऊदको एउटैमात्र सन्तानचाहिँ “मसिह” हुनुहुन्थ्यो। ‘मसिह’ परमेश्वरले चुन्नुभएको एकजना हुनुहुन्थ्यो जसले संसारका मानिसहरुलाई तिनीहरुका पापबाट बचाउनुहुने थियो।
जब दाऊदले यी कुराहरु सुने, उनले तुरुन्तै परमेश्वरलाई धन्यवाद दिए र उहाँको प्रशंसा गरे किनभने उहाँले दाऊदलाई त्यो महान् आदर र धेरै आशिषहरुको प्रतिज्ञा गर्नुभएको थियो। दाउदलाई यी कुरा कहिले हुन्छ भनेर थाहा थिएन l तर जसै यी कुराहरु भए, इस्राएलीहरुले मसिह आउन अघि धेरै समय कुर्नुपर्ने थियो, करिब १,००० वर्ष।
दाऊदले धेरै वर्षसम्म न्याय र विश्वासयोग्यताको साथ राज्य गरे, अनि परमेश्वरले उसलाई आशिष् दिनुभयो। तथापि, आफ्नो जीवनकालको अन्त्यतिर उनले परमेश्वरको विरुद्धमा डरलाग्दो पाप गरे।
एकदिन, जब दाऊदका सबै सैनिकहरु लडाईंको निम्ति आफ्ना घरबाट टाढा गएका थिए, उनले आफ्नो दरबारबाट बाहिर हेरे र एकजना सुन्दरी स्त्रीलाई नुहाइरहेको देखे। उनको नाउँ बतशेबा थियो।
अन्त्यै हेर्नुको सट्टा, दाऊदले कसैलाई त्यस स्त्रीलाई उनीकहाँ ल्याउन पठाए। दाऊद तिनीसँग सुते र तिनलाई उसको घरमा फर्ता पठाइदिए। केही समयपछि बतशेबाले दाऊदलाई आफू गर्भवती भएको सन्देश पठाइन्।
बतशेबाको पति, उरिया नाउँ गरेका मानिस, दाऊदका सेनाहरुमध्येका एक उत्तम सैनिक थिए। दाऊदले उरियालाई लडाईंबाट फर्ता बोलाए र उसलाई आफ्नी पत्नीकहाँ जान अनुरोध गरे। तर उरियाले लडाईंमा बाँकी रहेका आफ्ना सिपाहीहरुलाई छाडेर आफ्नो घर जान इन्कार गरे। त्यसैले दाऊदले उरियालाई लडाईंमा फिर्ता पठाए र प्रधान सेनापतिलाई जहाँ शत्रुहरु सबैभन्दा मजबुत छन्, त्यहिँ उसलाई राख्ने आदेश दिए ताकि तिनी मारिऊन्।
उरिया मारिएपछि दाऊदले बेतशेबालाई बिवाह गरे। पछि, उनले दाऊदको निम्ति छोरो जन्माइन्। दाऊदले गरेका कामप्रति परमेश्वर ज्यादै क्रोधत हुनुभयो, त्यसैले उहाँले नातान अगमवक्तालाई उनको पाप कति दुष्ट थियो भनी बताइदिन दाऊदकहाँ पठाउनुभयो। दाऊदले आफ्नो पापको निम्ति पश्चाताप गरे र परमेश्वरले उनलाई क्षमा दिनुभयो। आफ्नो बाँकी जीवनभरि दाऊदले परमेश्वरलाई पछ्याए र आज्ञाकारी भए, कष्टको घडीमा पनि।
तर दाऊदले गरेको पापको दण्ड स्वरुप, उनको बालखैको बच्चा मर्यो। दाऊदको बाँकी जीवनभरि उनको परिवारमा कलह भैरह्यो र दाऊदको तागत पनि हरायो जसकारण उनी अत्यन्तै कमजोर भए। दाऊद परमेश्वरमा विश्वासयोगी नभएतापनि परमेश्वर आफ्ना प्रतिज्ञाहरुमा अझैँ विश्वासयोग्य हुनुहुन्थ्यो। पछि, दाऊद र बेतशेबाको अर्को छोरो भयो र तिनीहरुले त्यसको नाउँ सोलोमन राखे।