Open Bible Stories Home

२६. येशूले आफ्नो प्रचार-यात्रा शुरु गर्नुभयो

बाइबलको कथाः मत्ती ४:१२-२५; मर्कूस १:१४-१५, ३५-३९; ३:१३-२१; लूका ४:१४-३०, ३८-४४ बाट

शैतानका परीक्षाहरुमा विजयी हुनुभएपछि, येशू पवित्र आत्माको शक्तिमा गालिलको प्रान्तमा फर्कनुभयो, जहाँ उहाँ बस्नुहुन्थ्यो। येशू सिकाउँदै एक ठाउँबाट अर्को ठाउँ जानुभयो। सबैजनाले उहाँको बारेमा असल बोल्दथे।

येशू नासरतको गाउँमा जानुभयो जहाँ उहाँले आफ्नो बाल्यकाल बिताउनुभएको थियो। शबाथको दिनमा, उहाँ आराधना गरिने स्थानमा जानुभयो। मानिसहरुले पढ्नको निम्ति उहाँको हातमा यशैया अगमवक्ताको पत्र दिए। येशूले पत्र खोल्नुभयो अनि त्यसको एक भाग मानिसहरुका निम्ति पढिदिनुभयो।

येशूले पढ्नुभयो, “परमेश्वरको आत्मा ममाथि हुनुहुन्छ, किनकी गरिबहरुलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ; मन भाँचिएकाहरुलाई निको पार्न, कैदीहरुलाई छुटकाराको र अन्धाहरुलाई दृष्टि-प्राप्तिको प्रचार गर्न, पिल्सीएकाहरुलाई छुटकारा दिन, र प्रभुको ग्रहणयोग्य वर्षको प्रचार गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ।”

अनि येशू तल बस्नुभयो। सबैको आँखा उहाँमाथि अडिएको थियो। तिनीहरुलाई थाहा थियो कि उहाँले भर्खरै पढ्नुभएको पत्रको त्यस भागले मसिहलाई निर्देश गरेको थियो। येशूले भन्नुभयो, “पवित्रशास्त्रको यस वचन आज तिमीहरुका कानमा पुरा भएको छ।” सबै मानिसहरु चकित थिए। “के यिनी योसेफका छोरा होइनन् र?” तिनीहरुले भने।

अनि येशूले भन्नुभयो, “म तिमीहरुलाई साँचो भन्दछु, कुनै पनि भविष्यवक्तालाई आफ्नो देशमा ग्रहणयोग्य गरिँदैन। एलियाको समयमा, इस्राएलमा अनेकौँ विधवाहरु थिए। तर जब साढे तीन वर्षसम्म पानी परेन, परमेश्वरले एलियालाई इस्राएलमा भएका विधवालाई साहयता गर्न पठाउनुभएन, तर बरु अन्य राष्ट्रको विधवाकहाँ पठाउनुभयो।

येशूले भन्दै जानुभयो, “अनि एलिशा अगमवक्ताको समयमा, छालाको रोग भएका धेरै मानिसहरु इस्राएलमा थिए। तर एलिशाले तिनीहरु कसैलाई निको पारेनन्। उनले केवल नामानको छालाको रोग निको पारे, इस्राएलका शत्रुको एक सैन्य अधिकारी।” येशूलाई सुनिरहेका मानिसहरु यहूदीहरु थिए। त्यसैले जब तिनीहरुले उहाँले यसो भन्नुभएको सुने, तिनीहरु उहाँप्रति रिसले चुर भए।

नासरतका मानिसहरुले येशूलाई आराधनाको स्थानबाट घिसारेर बाहिर निकाले र डाँडाको डिलमा लगी उहँलाई त्यहाँबाट खसालेर मार्न खोजे। तर येशू भिडको बीचबाट भएर जानुभयो र नासरत छाड्नुभयो।

त्यसपछि येशू गालील भरिका प्रान्तहरुमा जानुभयो, अनि ठूलो भीडहरु उहाँकहाँ आए। तिनीहरुले धेरै मानिसहरु ल्याए उनीहरु रोगी अथवा लङ्गडा थिए, जसमा तिनीहरु पनि समेटिएका थिए जो देख्न, हिँड्न, वा बोल्न सक्दैनथे, अनि येशूले तिनीहरुलाई निको पार्नुभयो।

धेरै भुतात्मा लागेका मानिसहरुलाई येशूकहाँ ल्याइयो। येशूको आज्ञामा, ती भुतात्माहरु मानिसहरुबाट निस्केर आए, अनि अक्सर यसो भनी चिच्याउँथे, “तपाईँ त परमेश्वरको पुत्र हुनुहुन्छ!” भीडका मानिसहरु अचम्भित भए र परमेश्वरको आराधना गरे।

त्यसपछि येशूले बाह्रजना मानिसहरुलाई छान्नुभयो जसलाई उहाँका चेलाहरु भनियो। ती चेलाहरु येशूसँगै हिँड्थे र उहाँबाट सिक्थे।

Next Chapter