Open Bible Stories Home

४१. परमेश्वरले येशूलाई मृतकबाट बौरी उठाउनुभयो

बाइबलको कथा: मत्ती २७:६२-२८:१५; मर्कूस १६:१-११; लूका २४:१-१२; यूहन्ना २०:१-१८ बाट

सिपाहीहरुले येशूलाई क्रुसमा टाँगिसकेपछि, अविश्वासी यहूदी अगुवाहरुले पिलातसलाई भने, “त्यस झूटो, येशूले भनेका थिए कि उ तीन दिनपछि मृत्युबाट उठ्नेछन् । उनका चेलाहरुले उनको लाश चोरेर लालान्, अनि उनी मृत्युबाट बौरी उठे भनी नभनुन् भन्ने कुराको पक्का गर्न कसैले त्यस चिहानको पहरा गर्नैपर्छ।”

पिलातसले भने, “केही सिपाहीहरु लग र त्यस चिहानलाई तिमीले सक्दो सुरक्षित राख ।” त्यसैले तिनीहरुले चिहानको मुखमा भएको ढुङ्गामा एउटा मोहोर लगाए र कसैले शरीर नचोरोस् भनी पक्का गर्न सिपाहीहरुलाई त्यहाँ राखे।

येशूलाई गाडिएको भोलिपल्ट शबाथको दिन थियो, र यहूदीहरुलाई त्यस दिन चिहानमा जान मनाही थियो। त्यसैले शबाथ दिनको भोलिपल्ट बिहान सबेरै, केही स्त्रीहरु येशूको चिहानमा उहाँको शरीरमा अत्तरहरु लगाउन जान तयार भए।

अचानक, त्यहाँ एउटा ठूलो भुकम्प गयो। चट्याङ झैँ चम्किरहेका एक स्वर्गदूत स्वर्गबाट देखा परे। उनले चिहानको मुख थुनिरहेको ढुङ्गालाई त्यहाँबाट हटाइदिए र त्यसमाथि बसे। चिहानको पहरा गरिरहेका सिपाहीहरु डराए र मृत मानिसझैँ भुईँमा लडे।

जब ती स्त्रीहरु चिहानमा आईपुगे, त्यस स्वर्गदूतले तिनीहरुलाई भने, “नडराऊ । येशू यहाँ हुनुहुन्न । उहाँले भन्नुभएझैँ, उहाँ मृतकबाट बौरी उठ्नुभएको छ ! चिहानमा हेर र थाहा गर ।” ती स्त्रीहरुले चिहानभित्र येशूको शरीर राखिएको ठाउँमा हेरे । उहाँको शरीर त्यहाँ थिएन !

अनि स्वर्गदूतले ती स्त्रीहरुलाई भने, “जाओ र चेलाहरुलाई भनिदेओ, ‘येशू मृतकबाट बौरी उठ्नुभएको छ र उहाँ तिमीहरुका अघि-अघि गालिलमा जानुहुनेछ ।’”

ती स्त्रीहरु डर र ठूलो रमाहाटले भरिएका थिए । उनीहरु चेलाहरुलाई यो खुसीको समाचार सुनाउन दौडदैँ गए ।

जसै ती स्त्रीहरु चेलाहरुलाई यो खुसीको समाचार सुनाउन जाँदै थिए, येशू उनीहरुकहाँ देखा पर्नुभयो, अनि उनीहरुले उहाँको आराधना गरे। येशूले भन्नुभयो, “नडराओ । जाओ र मेरा चेलाहरुलाई गालिलमा जान भनिदेओ । उनीहरुले मलाई त्यहिँ देख्नेछन् ।”

Next Chapter