परमेश्वरले बनाउनुभएको सुन्दर बगैँचामा आदम र हव्वा धेरै खुशीका साथ बसिरहेका थिए। दुवैजना कुनै वस्त्र बिना नै बस्दथे, तापनि यस कुरामा उनीहरुलाई कुनै लाज थिएन, किनकी संसारमा कुनै पाप थिएन। उनीहरु अक्सर बगैँचामा डुल्ने र परमेश्वरसँग बातचित गर्दथिए।
तर त्यस बगैचामा एउटा एक धूर्त सर्प थियो। उसले स्त्रीलाई सोध्यो,“के साच्चैं परमेश्वरले तिमीलाई यहाँ मध्ये कुनै पनि रुखको फल नखानु भन्नुभएको छ?”
स्त्रीले जवाफ दिइन्,“परमेश्वरले हामीलाई असल र खराबको ज्ञान छुट्याउने रुखको फल बाहेक अरु कुनैपनि रुखको फल खान हुन्छ भन्नुभएको छ। परमेश्वरले हामीलाई भन्नुभएको छ, ‘यदि तिमीले त्यस रुखको फल खाएमा अथवा छोएमा मात्रै पनि तिमी मर्नेछौ।’”
त्यस सर्पले स्त्रीलाई जवाफ दियो, “त्यो सत्य होइन! तिमीहरु मर्ने छैनौ। परमेश्वरलाई थाहा छ कि तिमीले त्यस रुखको फल खाने बित्तिकै, तिमी पनि परमेश्वरजस्तै हुनेछौ अनि उहाँले जस्तै असल र खराब जान्नेछौ।”
स्त्रीले त्यो फल हेर्नमा सुन्दर र स्वादिलो देखिन्। उनी पनि बुद्धिमान् हुन चाहिन्, त्यसैले उनले बगैचाबाट केहि फलहरु टिपिन् र खाइन्। उनीले केहि फल आफ्नो पतिलाई पनि दिइन्, जो उनीसँगै थिए, र उनले पनि त्यो फल खाए।
अचानक, उनीहरुका आँखाहरु खोलिए, अनि आफू नाङ्गो भएको उनीहरुले चाल पाए। उनीहरुले पातहरुलाई एकसाथ बुनेर वस्त्र बनाई आफ्ना शरीरलाई ढाक्न खोजे।
तब मानिस र उनकी पत्नीले परमेश्वर बगैंचाबाट भएर हिँड्दै गर्नुभएको आवाज सुने। उनीहरु दुवैजना परमेश्वरबाट लुके। अनि परमेश्वरले मानिसलाई बोलाएर भन्नुभयो,“तँ कहाँ छस्?” आदमले जवाफ दिए,“मैले तपाईँ बगैँचामा हिँड्दै गर्नुभएको सुने, अनि म डराएँ, किनकी म नाङ्गो थिएँ। त्यसैले म लुकेँ।”
अनि परमेश्वरले सोध्नुभयो,“तँलाई कसले भन्यो कि त नाङ्गो छस् भनेर? के मैले नखानु भनेको फल तैँले खाइस्?” मानिसले जवाफ दियो, “तपाईँले दिनुभएको स्त्रीले मलाई यो फल दिइन्।” अनि परमेश्वरले स्त्रीलाई सोध्नुभयो,“तैँले यो के गरिस्?” स्त्रीले जवाफ दिइन्, “त्यो सर्पले मलाई झुक्यायो।”
परमेश्वरले सर्पलाई भन्नुभयो, “तँ श्रापित भएको छस्! तँ तेरो पेटले घस्रने छस् र तैले माटो खानेछस्। तँ र स्त्रीले एक अर्कालाई घृणा गर्नेछौ र तेरो र स्त्रीको सन्तानले पनि एक-अर्कालाई घृणा गर्नेछन। यस स्त्रीको सन्तानले तेरो शिर कुच्याउने छ, अनि तैँले उसको कुर्कुच्चा डस्नेछस्।”
त्यसपछि परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तेरो सुत्केरी-बेदना म ज्यादै गरी बढाइदिनेछु। तापनि तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँमाथि अधिकार गर्नेछ।”
परमेश्वरले मानिसलाई भन्नुभयो, “तैँले आफ्नी श्रीमतीको कुरा सुनेर मेरो आज्ञा नमानेको हुनाले यो भुमि तेरो कारणले श्रापित भएको छ। खानको निम्ति तैँले कडा परिश्रम गर्नुपर्नेछ। त्यसपछि तँ मर्नेछस्, र तेरो शरीर माटोमै मिल्नेछ।” मानिसले आफ्नी श्रीमतीको नाउँ हव्वा राखे, जसको अर्थ हो “जीवन दिने”, किनकी तिनी सबै जातिका मानिसहरुका आमा बन्ने थिइन्। अनि परमेश्वरले आदम र हव्वालाई पशूको छालाले लुगा बनाई लगाइदिनुभयो।
अनि परमेश्वरले भन्नुभयो,“अब मानिसहरु पनि हामीजस्तै असल र खराब जान्ने भएका छन्, त्यसैले तिनीहरुले अब जीवनको रुखको फल खाएर तिनीहरु सधैँभरि जीवित रहन नपाऊन भनि परमेश्वरले अदाम र हव्वालाई त्यस सुन्दर बगैँचाबाट निकालिदिनुभयो। परमेश्वरले जीवनको रुखको निग्रानी गर्नको लागी शक्तिशाली स्वर्गदूतहरुलाई बगैँचाको मूलढोकामा पहरेदारको रुपमा खटाउनुभयो।