जलप्रलयको धेरै वर्षपछि, संसारमा पुन: मानिसहरुको संख्या बृद्धि हुँदै गयो, र तिनीहरु सबै एउटै भाषा बोल्ने गर्दथे। तर परमेश्वरले आज्ञा गर्नुभए बमोजिम पृथ्वीमा भरिनुको साटो उनीहरु एकसाथ भेला भए र एउटा सहर निर्माण गर्न लागे।
तिनीहरु ज्यादै घमण्डी थिए, अनि परमेश्वरले भन्नुभएको कुरालाई तिनीहरुले वास्ता गरेनन्। तिनीहरुले स्वर्ग सम्म पुग्नको लागी अग्लो धरहरा निर्माण गर्न थाले l यदि उनीहरु अझैँ एकसाथ दुष्ट कामहरु गर्दै गए भने उनीहरु अझ बढी अधर्मी हुनसक्ने परमेश्वरले देख्नुभयो।
त्यसैले परमेश्वरले उनीहरुका भाषालाई अन्य थुप्रै भाषाहरुमा विभाजन गरिदिनुभयो अनि मानिसहरुलाई सारा संसारभरि छरपस्ट पारिदिनुभयो। उनीहरुले बनाउन सुरु गरेको सहरको नाउँ “बाबेल” थियो, जसको अर्थ “अलमल्लमा पर्नु” थियो।
सयौँ वर्षपछि, परमेश्वर अब्राम नाउँ गरेका एकजना व्यक्तिसँग बोल्नुभयो। परमेश्वरले उसलाई भन्नुभयो, “तेरो देश र घरानालाई छोड् र मैले तँलाई देखाउन लागेको ठाउँमा जा। म तँलाई आशिष् दिनेछु र तँलाई दिएको ठाउलाई एउटा महान् राष्ट्र बनाउनेछु। म तेरो नाउँ महान् तुल्याउनेछु। म तेरो नामलाई ठुलो बनाउने छु l तँलाई आशिष् दिनेहरुलाई म आशिष् दिनेछु अनि तँलाई सराप्नेहरुलाई म श्राप दिनेछु। पृथ्वीमा भएका सारा घरानाहरुले तेरो कारणले आशिषित हुनेछन्।”
अनि अब्रामले परमेश्वरको आज्ञा माने। उनले आफ्नी श्रीमती “साराइ”, आफ्ना सारा नोकरहरु र आफ्नो सबै थोक लिएर परमेश्वरले देखाउनुभएको देशतिर लागे, कनानको देशमा।
जब अब्राम कनानमा आइपुगे, परमेश्वरले भन्नुभयो,“आफ्नो चारैतिर हेर्। तँ र तेरा सन्तानलाई तैँले देख्नसके जति सबै देश पैत्रिक सम्पतिको रुपमा म तँलाई दिनेछु।” अनि अब्राम त्यस देशमा बस्न लागे।
एकदिन, अब्रामले सर्वोच्च परमेश्वरका पूजाहारी, मल्किसेदेकलाई भेटे। मल्किसेदेकले अब्रामलाई आशिष् दिएर भने, “आकाश र पृथ्वीका मालिक, सर्वोच्चका परमेश्वरले तिमीलाई आशिष् दिऊन्।” अनि अब्रामले मल्किसेदेकलाई आफ्नो सारा सम्पतिको दशौं हिस्सा दिए।
धेरै वर्ष बितिगए तर अब्राम र साराइको कुनै सन्तान भएको थिएन। परमेश्वर अब्रामसँग बोल्नुभयो र फेरि भन्नुभयो कि उसको एउटा छोरो हुनेछ र उसका सन्तानहरु आकाशका तारा सरह धेरै हुनेछन्। अब्रामले परमेश्वरको प्रतिज्ञामा विश्वास गरे। परमेश्वरले अब्रामलाई धर्मी ठहराउनुभयो किनकी अब्रामले परमेश्वरको प्रतिज्ञामा विश्वास गरे।
अनि परमेश्वरले अब्रामसँग एउटा करार बाँध्नुभयो। करारचाहिँ दुई पक्षबीचको सम्झौता हो। परमेश्वरले भन्नुभयो, “तेरो आफ्नै शरीरबाट म तँलाई एउटा छोरो दिनेछु। कनानको देश म तेरा सन्तानहरुलाई दिनेछु।” तर अब्रामसँग अझ पनि एउटै छोरो थिएन।