Open Bible Stories Home

१४. उजाड स्थानमा भौँतारिदै

बाइबलको कथा: लेवी १६-१७, गन्ती १० -१४;२०;२७, व्यवस्था ३४ बाट

सिनै पर्वतमा आफ्नो करार दिइसक्नुभएपछि परमेश्वरले इस्राएलीहरुलाई प्रतिज्ञाको देशतर्फ डोर्याउन थाल्नुभयो, जसलाई कनानको देश पनि भनिन्थ्यो। बादलको खाँबोले तिनीहरुलाई अघि-अघि कनानतर्फ डोर्याउँदै लग्यो र तिनीहरुले त्यसलाई पछ्याए।

परमेश्वरले अब्राहम, इसाहक र याकूबसँग त्यस देश तिनीहरुका सन्तानहरुलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो, तर त्यस समयमा त्यहाँ थुप्रै समूदायका मानिसहरु बसोबास गरिरहेका थिए। उनीहरुलाई कनानीहरु भनिन्थ्यो। कनानीहरुले परमेश्वरलाई पूज्दैनथे न ता उहाँको आज्ञा नै मान्थे। उनीहरुले झुटा देवहरुलाई पुज्थे र धेरै अधर्मी कार्यहरु गर्ने गर्दथे।

परमेश्वरले इस्राएलीहरुलाई भन्नुभयो, “तिमीहरुले त्यहाँ रहेका सबै कनानीहरुलाई त्यस देशबाट हटाउनु पर्नेछ। तिनीहरुसँग कुनै सम्झौता अथवा बिवाह नगर्नु। तिनीहरुका मूर्तिहरुलाई पुर्ण रुपले ध्वस्त पारिदिनु। यदि तिमीहरुले मेरो आज्ञा मानेनौ भने, तिमीहरुले मेरो सट्टामा तिनीहरुका मूर्तिहरु पूज्नेछौ।”

जब इस्राएलीहरु कनानको सीमानामा आइपुगे, मोशाले इस्राएलका प्रत्येक कूलबाट एक-एक जना गरि बाह्रजना मानिसहरु छाने। उनले ती मानिसहरुलाई त्यस देशको खबर बुझ्न जासूसका रुपमा पठाए। कनानीहरु बलिया छन् या निर्धा छन् भन्ने बिषयमा चियो गर्नको निम्ति पनि तिनीहरुलाई पठाइएको थियो।

ती बाह्रजना मानिसहरु चालीस दिनसम्म कनानमा घुमिरहे र त्यसपछि तिनीहरु फर्केर आए। तिनीहरुले मानिसहरुलाई भने, “त्यहाँको भुमी त ज्यादै मलिलो र फसल प्रशस्तै हुने खालको रहेछ!” तर दशजना जासूसहरुले यसो भने, “त्यो सहर त ज्यादै मजबूत छ र त्यहाँका मानिसहरु पनि अजङ्गका छन्! यदि हामीले तिनीहरुमाथि आक्रमण गर्यौँ भनेता निश्चय नै तिनीहरुले हामीलाई परास्त गर्नेछेन् र मार्नेछन्!”

तब तुरुन्तै अर्का दुई जासूसहरु, कालेब र येहोशूले चाहिँ यसो भने, यो सहि हो कि कनानका मानिसहरु अग्ला र बलिया छन्, तर निश्चय नै हामीले तिनीहरुलाई परास्त गर्न सक्छौँ! परमेश्वर हाम्रो निम्ति लडिदिनुहुनेछ।

तर मानिसहरुले कालेब र येहोशूको कुरा सुनेनन्। ऊनीहरु मोशा र हारुनसँग रिसाए र भने, “तपाईँहरुले किन हामीलाई यस्तो भयानक ठाउँमा ल्याउनुभयो? लडाईँमा मारिनु र आफ्नी श्रीमती र बालबच्चाहरुलाई दास बनाइनुभन्दा त बरु हामी मिश्रदेशमै बसेको भए हुनेथियो।” फेरि मिश्रदेशमा फर्काएर लैजान मानिसहरुले एकजना नयाँ अगुवाको माग गरे।

यो देखेर परमेश्वर ज्यादै रिसाउनुभयो र भेट हुने पालमा आउनुभयो। परमेश्वरले भन्नुभयो, “मेरो बिरुद्धमा बिद्रोह गरेका कारण तिमीहरु सबैजना यस उजाड स्थानमा भौँतारिदै हिँड्नेछौ। कालेब र येहोशू बाहेक बीस बर्षभन्दा माथिका सबै यहिँ मर्नेछन् र प्रतिज्ञाको मुलुकभित्र छिर्न पाउनेछैनन्।“

जब मानिसहरुले यो कुरा सुने, आफूले पाप गरेकोमा तिनीहरु दु:खी भए। तिनीहरुले आफ्ना हतियारहरु लिए र कनानका मानिसहरुलाई आक्रमण गर्न गए। मोशाले तिनीहरुलाई त्यहाँ नजान चेतावनी दिए किनकी परमेश्वर तिनीहरुको साथमा हुनुहुँदैनथ्यो, तर तिनीहरुले उनको कुरा सुनेनन्।

त्यस लडाईंमा परमेश्वर तिनीहरुसँग जानुभएन, त्यसैले तिनीहरु पराजित भए र धेरैजना मारिए। त्यसपछि इस्राएलीहरु कनानबाट फर्के र चालीस वर्षसम्म उजाड स्थानमा भैँतारिरहे।

चालीस वर्षसम्म उजाड स्थानमा भैँतारिरहँदा परमेश्वर स्वयंमले नै इस्राएलका मानिसहरुलाई जुटाइदिनुभयो। उहाँले तिनीहरुलाई स्वर्गबाट रोटी दिनुभयो, जसलाई “मन्न” भनिन्थ्यो। उहाँले तिनीहरु बसेको शिविरमा खानको निम्ति मासुपनि होस् भन्ने हेतुले बट्टाईको झुण्ड पनि पठाइदिनुभयो। ती सबै समयभरि परमेश्वरले तिनीहरुका लुगा र जुत्ता च्यातिनबाट जोगाइदिनुभयो।

परमेश्वरले आश्चर्यजनक रुपमा तिनीहरुलाई चट्टानबाट पानी दिनुभयो। यति हुँदा-हुँदै पनि, इस्राएलका मानिसहरुले परमेश्वर र मोशाको बिरुद्धमा आरोप लगाए र गनगन गरे। तापनि, अब्राहम, इसाहक र याकूबसँग आफूले बाँध्नुभएको प्रतिज्ञामा परमेश्वर विश्वासयोग्य हुनुहुन्थ्यो।

एकपटक, जब मानिसहरुसँग पिउनको निम्ति पानी थिएन, परमेश्वरले मोशालाई भन्नुभयो, “चट्टानलाई भन् र त्यसबाट पानी आउनेछ।” तर मोशाले सबै मानिसहरुको सामुन्ने बोल्नुको सट्टा चट्टानमा दुई पटक एउटा लठ्ठीले हिर्काएर परमेश्वरको अनादर गरे। चट्टानबाट पानी त आयो तर परमेश्वर मोशासँग रिसाउनुभयो र भन्नुभयो, “तँ प्रतिज्ञाको मुलुकभित्र पस्न पाउनेछैनस्।”

उजाड स्थानमा भौँतारिएको चालीस वर्षपछि, परमेश्वरको बिरुद्धमा बिद्रोह गर्ने सबै इस्राएलीहरु मरिसकेका थिए। त्यसपछि परमेश्वरले फेरि मानिसहरुलाई प्रतिज्ञा गरिएको मुलुकको छेउमा लग्नुभयो। मोशा अब बूढा भइसकेका थिए, त्यसैले परमेश्वरले येहोशूलाई ती मानिसहरुको नेत्रित्व गर्न छान्नुभयो। परमेश्वरले मोशालाई यो पनि प्रतिज्ञा गर्नुभयो कि एकदिन उहाँले मोशाजस्तै अर्को एकजना अगमवक्ता पठाउनुहुनेछ।

अनि परमेश्वरले मोशालाई पहाडको टुप्पोमा जान भन्नुभयो, ताकि उनले प्रतिज्ञा गरिएको मुलुकको अवलोकन गर्न सकून्। मोशाले प्रतिज्ञा गरिएको मुलुक देख्न पाए तर परमेश्वरले उसलाई त्यहाँ जान मनाही गर्नुभयो। त्यसपछि मोशाको मृत्यु भयो, र तीस दिनसम्म इस्राएलीहरुले उनको निम्ति शोक मनाए। येहोशू तिनीहरुका नयाँ अगुवा भए। येहोशू एक असल अगुवा थिए किनकी उनले परमेश्वरमा भर गदर्थे।

Next Chapter