Open Bible Stories Home

२१. परमेश्वरले मसिहको प्रतिज्ञा गर्नुभयो

बाइबलको कथा: उत्पत्ति ३:१५; १२:१-३; व्यवस्था १८:१५; २ शामुएल ७; यर्मिया ३१; यशैया ५९:१६; दानिएल ७; मलाकी ४:५; यशैया ७:१४; मीका ५:२; यशैया ९:१-७; ३५:३-५; ६१; ५३; भजनसंग्रह २२:१८; ३५:१९; ६९:४; ४१:९; जकरिया ११:१२-१३; यशैया ५०:६; भजनसंग्रह १६:१०-११ बाट

सबै कुराको सुरुवात भएदेखि नै, परमेश्वरले मसिहलाई पठाउने योजना गर्नुभएको थियो। मसिह आउनेबारे सबैभन्दा पहिलो प्रतिज्ञा आदम र हव्वाकहाँ आयो। परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि हव्वाको वंशबाट एकजना सन्तान जन्मनेछ जसले सर्पको शिर कुच्याउनेछ। हव्वालाई छक्याउले त्यो सर्प शैतान थियो। त्यस प्रतिज्ञाको अर्थचाहिँ मसिहको आगमनले शैतानलाई पूर्ण रुपमा परास्त गर्नेथियो।

परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभयो कि ऊद्वारा संसारका सबै जातिका मानिसहरुले आशिष् पाउनेछन्। त्यो आशिष् तब पुरा हुनेथियो जतिखेर भविष्यको कुनै समयमा मसिहको आगमन हुनेथियो। उहाँले संसारका सबै जातिका मानिसहरुलाई उद्धारको बाटो प्रदान गरिदनुहुने थियो।​

परमेश्वरले मोशालाई भविष्यमा उहाँले मोशाजस्तै अर्को एकजना अगमवक्ता खडा गर्ने प्रतिज्ञा गर्नुभयो। यो मसिह र उहाँको आगमनको सम्बन्धमा अर्को एउटा प्रतिज्ञा थियो।

परमेश्वरले दाऊद राजालाई प्रतिज्ञा गर्नुभयो कि उसको आफ्नै वंशको सन्तानले परमेश्वरका मानिसहरुमाथि राजा भई सदा-सर्वदा राज्य गर्नेछ। त्यसको अर्थ मसिह दाऊदकै वंशको एकजना हुनुहुनेछ।

यर्मिया अगमवक्ताद्वारा, परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि उहाँले एउटा नयाँ करार स्थापित गर्नुहुनेछ, जुनचाहिँ उहाँले सिनै पर्वतमा स्थापित गर्नुभएजस्तो करार थिएन। यस नयाँ करारमा, परमेश्वरले आफ्ना व्यवस्थाहरु मानिसहरुका हृदयमा लेखिदिनुहुनेछ, मानिसहरुले परमेश्वरलाई व्यक्तिगत रुपले जान्नेछन्, तिनीहरु उहाँका मानिसहरु हुनेछन्, र परमेश्वरले तिनीहरुका पापहरु क्षमा गरिदिनुहुनेछ। मसिहले नयाँ करारको थालनीू गर्नुहुनेछ।

परमेश्वरका अगमवक्ताहरुले यसो पनि भने कि मसिह एक अगमवक्ता, एक पुजाहारी र एक राजा हुनुहुनेछ। अगमवक्ता त्यस मानिस हो जसले परमेश्वरको वचनहरु सुन्दछ र परमेश्वरका वचनहरु मानिसहरुका माझमा घोषणा गरिदिन्छ। परमेश्वरले पठाउनेछु भनी प्रतिज्ञा गर्नुभएको मसिहचाहिँ एकमात्र सिद्ध अगमवक्ता हुनुहुन्थ्यो।

इस्राएली पुजाहारीहरुले मानिसहरुको तर्फबाट तिनीहरुको पापको खातिर दण्डको सट्टा क्षमाको निम्ति परमेश्वरलाई बलिहरु चढाइदिने गर्दथे। पुजाहारीहरुले मानिसहरुका निम्ति परमेश्वरसँग प्रार्थना पनि गरिदिन्थे। मसिह एकमात्र सिद्ध प्रधान पुजाहारी हुनुहुन्थ्यो जसले आफैँलाई एक सिद्ध बलिको रुपमा परमेश्वर समक्ष अर्पण गर्नुहुनेथियो।

राजा त्यो हो जसले कुनै राज्यमाथि शासन गर्छ र मानिसहरुको न्याय गर्छ। मसिह एकमात्र सिद्ध राजा हुनुहुन्थ्यो जो आफ्नो पुर्खा दाऊदको सिंहासनमा बस्नुहुने थियो। उहाँले सदा-सर्वदाको निम्ति सारा संसारमाथि राज्य गर्नुहुने थियो, र हरबखत इमान्दारी र सही निर्णयका साथ न्याय गर्नुहुनेथियो।

परमेश्वरका अगमवक्ताहरुले मसिहको बारेमा अन्य धेरै कुराहरुको भविष्यवाणी गरे। मलाकी अगमवक्ताले मसिह आउनुअघि एकजना महान् अगमवक्ता आउनेछन् भनी भविष्यवाणी गरे। यशैया अगमवक्ताले मसिह कन्याबाट जन्मनुहुनेछ भनी भविष्यवानी गरे। मीका अगमवक्ताले उहाँ बेथलेहेमको गाउँमा जन्मनुहुनेछ भने।​

यशैया अगमवक्ताले भने कि, मसिह गालीलमा बस्नुहुनेछ, मन भाँचिएकाहरुका हृदयलाई बाँध्नुहुनेछ, बन्धनमा परेकाहरुलाई स्वतन्त्रता दिनुहुनेछ र कैदमा परेकाहरुलाई छुटकारा दिनहुनेछ। मसिहले रोगी-बिरामीहरुलाई र सुन्न, देख्न, बोल्न वा हिँड्न नसक्नेहरुलाई निको पार्नुहुनेछ भनी भविष्यवानी गरे।

यशैया अगमवक्ताले यो पनि भविष्यवाणी गरे कि मसिहलाई बिनाकारण घृणा र तिरस्कार गरिनेछ। अरु अगमवक्ताहरुले मसिहलाई मार्नेहरुले उहाँको लुगामा चिठ्ठा हाल्नेछन् र एकजना मित्रले उहाँलाई धोका दिनेछन् भनी भविष्यवानी गरे। जकरिया अगमवक्ताले त्यस मित्रलाई, मसिहलाई धोका दिए बापत तीस चाँदीका सिक्का भुक्तानी स्वरुप तिरिनेछ भनी भविष्यवाणी गरे।

अगमवक्ताहरुले मसिहको मृत्युको सम्बन्धमा पनि भविष्यवाणी गरे। यशैयाले भविष्यावाणी गरे कि; मानिसहरुले मसिहलाई थुक्नेछन्, गिज्याउनेछन्, र कुट्नेछन्। तिनीहरुले उहाँलाई भालाले घोच्नेछन् र ज्यादै कष्ट र पिढाका साथ उहाँ मर्नुहुनेछ, तथापि उहाँले केही कसुर गर्नुभएको थिएन।​

अगमवक्ताहरुले यो पनि भने कि उहाँ सिद्ध हुनुहुनेछ, कुनै पाप बिनाको। उहाँ अरु मानिसहरुका पापको दण्ड बोक्नको खातिर मर्नुहुनेछ। उहाँको दण्डले मानिस र परमेश्वरबीच शान्ति ल्याउनेथियो। यसैकारण, मसिहलाई कुल्चनु परमेश्वरकै चाहना थियो।

अगमवक्ताहरुले भविष्यवाणी गरे कि, मसिह मर्नुहुनेछ र परमेश्वरले नै उहाँलाई मृत्युबाट बौरी उठउनुहुनेछ। मसिहको मृत्यु र बौरी उठाइबाट, परमेश्वरले पापीहरुलाई बचाउने र नयाँ करारको थालनी गर्ने उहाँको योजना पूरा गर्नुहुनेछ।

परमेश्वरले मसिहको सम्बन्धमा अगमवक्ताहरुलाई धेरै कुराहरु प्रकट गर्नुभयो, तर मसिह ती कुनै अगमवक्ताहरुको समयमा आउनुभएन। यी अन्तिमका भविष्यवाणीहरु दिइएको ४०० वर्षभन्दा बढी समयपछि, ठ्याक्कै सहि समयमा, परमेश्वरले मसिहलाई संसारमा पठाउनुहुनेथियो।

Next Chapter