Open Bible Stories Home

५. प्रतिज्ञाको सन्तान

बाइबलको कथा : उत्पत्ति १६-२२ बाट

कनानमा बसाइ सरेको १० वर्ष बितिसक्दा पनि अब्राम र सराइको कुनै सन्तान भएको थिएन। त्यसैले अब्रामकी पत्नी सराइले उनलाई भनिन्, “परमेश्वरले मेरो कोख बन्द गरिदिनुभएको छ र अब सन्तान पाउनको निम्ति म बुढी भइसकेको छु, यसकारण मेरो दासी हागारसँग बिवाह गर्नुहोस् र त्यसले मेरो निम्ति एउटा सन्तान दिनेछे।

यसकारण, अब्रामले हागारसँग बिबाह गरे। हागारले एउटा छोरो जन्माइन्, अनि अब्रामले त्यसको नाउँ इश्माएल राखे। तर साराइले हागारको डाह गर्न लागिन्। जब इश्माएल तेह्र बर्षको थियो, परमेश्वर फेरि अब्रामसँग बोल्नुभयो।

परमेश्वरले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। म तँसँग एउटा करार बाँध्नेछु।” अनि अब्रामले भुँईमा घोप्टो परि दण्डवत गरे। परमेश्वरले फेरि भन्नुभयो, “तँ धेरै राष्ट्रहरुका पिता हुनेछस्। कनानको देशलाई म तँ र तेरा सन्तानहरुका हातमा सुम्पिदिनेछु र म सधैँभरि तिनीहरुका परमेश्वर हुनेछु। तैँले आफ्नो घरानाका सबै पुरुषहरुको खाताना गर्नुपर्नेछ।”

“तेरी श्रीमती साराइले एउटा छोरो जन्माउनेछिन् - त्योचाहिँ प्रतिज्ञा गरिएको सन्तान हुनेछ। तैँले त्यसको नाउँ इसहाक राख्नु। त्योसँग ‍‍म मेरो करार बाँध्नेछु, र त्यसको एउटा विशाल राष्ट्र हुनेछ। म इश्माएललाई पनि विशाल राष्ट्र दिनेछु तर म मेरो करारचाहिँ इसाहाकसँग नै बाँध्नेछु।” त्यसपछि परमेश्वरले अब्रामको नाउँ ‘अब्राहम’ राखिदिनुभयो, जसको अर्थ हो ‘धेरैका पिता’। परमेश्वरले साराइको पनि नाउँ अब ‘सारा’ राखिदिनुभयो, जसको अर्थ हो “राजकुमारी”।

त्यस दिन अब्राहमले आफ्ना घरानाका सबै पुरुषहरुको खतना गरिदिए। त्यसको करिब एक वर्षपछि, अब्राहम सय वर्षका र सारा नब्बे वर्षकी हुँदा, साराले अब्राहमको छोरो जन्माइन्। परमेश्वरले भन्नुभएझैँ उनीहरुले त्यसको नाउँ इसाहाक राखे।

जब इसहाक बालखै थिए, परमेश्वरले अब्राहमको विश्वासको जाँच गर्नुभयो र भन्नुभयो, “तेरो एउटै छोरो इसहाकलाई लिएर जा र त्यसलाई मेरो निम्ति बलि चढा।” अब्राहमले परमेश्वरले भन्नुभएको कुरालाई माने र आफ्नो छोरालाई बलिदान दिन तयार भए।

जसै अब्राहम र इसहाक बेदिको स्थान तर्फ जादैँ थिए, इसहाकले सोधे, “बुवा, हामीसँग बलिको निम्ति काठहरु त छन्, तर थुमाचाहिँ खै त?” अब्राहमले जवाफ दिए, “परमेश्वरले नै बलिको निम्ति थूमा जुटाउनुहुनेछ, मेरो छोरा।”

जब उनीहरु बेदीको स्थानमा पुगे, अब्राहमले आफ्नो छोरालाई बाँधे र उसलाई बेदीमा राखे। जब उनले आफ्नो छोरालाई मार्नै आँटेका थिए, परमेश्वरले भन्नुभयो, “रोक्! त्यस केटोलाई केहि नगर्! अब मलाई थाहा भयो कि तैँले मेरो भय राख्छ्स किनभने तैँले मेरो निम्ति आफ्नो एउटै छोरो पनि बाँकी रखिनस् |”

त्यहाँ नजिकै अब्राहमले एउटा थूमालाई झाडीमा अल्झिरहेको देखे। परमेश्वरले त्यस थुमालाई इसाहाकको सट्टा बलिदानको निम्ति त्यहाँ राखिदिनुभएको थियो। अब्राहमले खुसीका साथ त्यस थूमालाई बलि चढाए |

अनि परमेश्वरले अब्राहमलाई भन्नुभयो, “तैँले मेरो निम्ति आफ्ना सबैथोक दिन तयार भएकोले, अनि तेरो एउटै मात्र छोरो पनि बाँकी नराखेको हुनाले, म तँलाई आशिष् दिने प्रतिज्ञा गर्दछु। तेरा सन्तानहरु आकाशका ताराहरुभन्दा बढी हुनेछन्। तैँले मेरो आज्ञा मानेको हुनाले, संसारका सबै घरानाहरु तेरो घरानाद्वारा आशिषित हुनेछन्।

Next Chapter