मिश्रदेश छाडेर जान पाउँदा इस्राएलीहरु ज्यादै खुसी थिए। तिनीहरु अब दासहरु रहेनन्, र तिनीहरु प्रतिज्ञा गरिएको देशमा जाँदै थिए ! मिश्रीहरुले इस्राएलीहरुलाई उनीहरुले मागेका सबै थोक दिए, सुन र चाँदि र अरु बहुमुल्य वस्तुहरु समेत दिए। अन्य देशका केही मानिसहरुले परमेश्वरमा विश्वास गरे र उनीहरु पनि मिश्रदेशबाट निस्केर इस्राएलीहरुसँगै गए।
परमेश्वरले दिनमा बादलको अग्लो खाँबोद्वारा तिनीहरुलाई डोर्याउनुभयो, त्यो तिनीहरुको अघि-अघि जान्थ्यो, जुन रातमाचाहिँ आगोको खाँबो बन्थ्यो। परमेश्वर सधैँ तिनीहरुसँग हुनुहुन्थ्यो अनि यात्राको क्रममा तिनीहरुलाई बाटो देखाउनुभयो। तिनीहरुले गर्नुपर्ने एउटै मात्र काम केवल उहाँलाई पछ्याउनुपर्ने थियो।
केहि समयपछि, फारो र उनका मानिसहरुले आफ्ना विचार परिवर्तन गरे र इस्राएलीहरुलाई फेरि आफ्ना दासहरु बनाउन चाहे। परमेश्वरले फारोलाई हठी तुल्याइदिनुभयो ताकि मानिसहरुले उहाँ नै एउटै सत्य परमेश्वर हुनुहुन्छ भनी देखुन् र यो जानून् कि उहाँ, याह्वे, फारो र उनका देवहरुभन्दा धेरै शक्तिशाली हुनुहुन्छ।
त्यसकारण फारो र उनका फौजले इस्राएलीहरुलाई फेरि आफ्ना दास बनाउनको निम्ति खेद्दै आए। जब इस्राएलीहरुले मिश्री फौज आउँदै गरेको देखे, तिनीहरुले आफैँलाई फारोका सेनाहरु र लाल समुद्रको बीचमा फसेको चाल पाए। तिनीहरु ज्यादै डराए र यसो भन्दै कराए, “हामीले किन मिश्रदेश छाड्यौँ? अब हामी मर्छौँ!”
मोशाले इस्राएलीहरुलाई भने, “नडराओ! आज परमेश्वर तिमीहरुका निम्ति लडिदिनुहुनेछ र तिमीहरुलाई बचाउनुहुनेछ।” अनि परमेश्वरले मोशालाई भन्नुभयो, “मानिसहरुलाई लाल समुद्रतर्फ बढ्न भन्।”
अनि परमेश्वरले बादलको खाँबोलाई इस्राएली र मिश्रीहरुका बिचमा राखिदिनुभयो ताकि मिश्रीहरुले इस्राएलीहरुलाई देख्न नसकून्।
परमेश्वरले मोशालाई उसको हात समुद्रमाथि पसारी पानीलाई दुई भाग बनाउन भन्नुभयो। अनि परमेश्वरले दाहिने र देब्रेतिर शक्तिशाली हावा चलाएर समुद्रलाई धकेल्नुभयो, जसकारण समुद्रबाट भएर एउटा बाटो बन्यो।
इस्राएलीहरु सुख्खा भूमिमाथि आफ्ना दुवै छेउमा पानीको पर्खालको साथमा समुद्रबाट भएर लाम लागाएर हिँडे।
अनि परमेश्वरले त्यस बादललाई बाटोबाट हटाइदिनुभयो ताकि मिश्रीहरुले इस्राएलीहरु भाग्दै गरेका देख्न सकून्। मिश्रीहरुले तिनीहरुको पछि लाग्ने निर्णय गरे।
यसकारण उनीहरु समुद्रको बाटो भएर इस्राएलीहरुको पछि लागे, तर परमेश्वरले मिश्रीहरुलाई अत्याइदिनुभयो र उनीहरुका घोडचढीहरुलाई अड्काइदिनुभयो। उनीहरुले कराएर भने, “भाग! परमेश्वर इस्राएलीहरुको निम्ति लडिराख्नुभएको छ!”
सबै इस्राएलीहरु सकुशल समुद्रको पल्लो छेऊमा पुगेपछि, परमेश्वरले फेरि मोशालाई आफ्नो हात पसार्न भन्नुभयो। जब उनले त्यसो गरे, पानी मिश्री फौजको माथि खस्यो र फेरि जस्ताको त्यस्तै भयो। सारा मिश्री फौज डुबे।
जब इस्राएलीहरुले सबै मिश्रीहरुको मृत्यु भएको देखे, तिनीहरुले परमेश्वरमा भर गरे र मोशा परमेश्वरका एक अगमवक्ता रहेछन् भनी विश्वास गरे।
इस्राएलीहरुले ज्यादै उत्साहका साथ आन्नद पनि मनाए किनभने परमेश्वरले तिनीहरुलाई मृत्यु र दासत्वबाट बचाउनुभएको थियो! अब तिनीहरु परमेश्वरको सेवा गर्न स्वतन्त्र थिए। इस्राएलीहरुले आफ्नो नयाँ स्वतन्त्रताको उत्सव मनाउन र परमेश्वरको प्रशंसा गर्न धेरै गीतहरु गाए किनकी परमेश्वरले तिनीहरुलाई मिश्री फौजबाट बचाउनुभएको थियो।
परमेश्वरले इस्राएलीहरुलाई हरेक बर्ष निस्तार चाड मनाउन भन्नुभयो, यस खातिर कि कसरी परमेश्वरले तिनीहरुलाई मिश्रीहरुको बिरुद्ध विजय दिनुभयो र तिनीहरुलाई दासत्वबाट बचाउनुभयो, सो सम्झनको निम्ति। तिनीहरुले सो पर्व एक निष्खोट थूमा मारेर त्यसलाई खमिर नहालेको रोटीसँग खाएर मनाए।