इस्राएलीहरुलाई लाल समुद्र पार गराउनुभएपछि परमेश्वरले तिनीहरुलाई उजाड स्थानबाट भएर सिनै भन्ने पर्वतमा डोर्याउनुभयो। यो त्यहि पर्वत थियो जहाँ मोशाले जलिरहेको पोत्रा देखेका थिए। मानिसहरुले आफ्ना पालहरु पर्वतको तलतिर टाँगे।
परमेश्वरले मोशा र इस्राएलका मानिसहरुलाई भन्नुभयो, “यदि तिमीहरुले मेरो आज्ञा मान्यौ र मेरो करार राख्यौ भने, तिमीहरु मेरा सम्पति, पुजाहारीहरुको एक राज्य र एक पवित्र जाति हुनेछौ।”
तीन दिनपछि, मानिसहरुले आफैलाई आत्मिक रुपमा तयार पारिसकेपछि, परमेश्वर गर्जन, चट्याङ, धुँवा र चर्को बिगुलको ध्वनिका साथ तल सिनै पर्वतको टाकुरामा ओर्लिआउनुभयो। केवल मोशालाई मात्र माथि पर्वतमा उक्लिन अनुमति थियो।
अनि परमेश्वरले तिनीहरुलाई त्यो करार दिनुभयो र भन्नुभयो,“म याह्वे हुँ, तिमीहरुका परमेश्वर, जसले तिमीहरुलाई मिश्रदेशको दासत्वबाट बचायो। अरु कुनै देवहरु नपूज्नु।”
“कुनै किसिमका मूर्तिहरु नबनाउनु वा तिनीहरुलाई नपूज्नु, किनकी म, याह्वे, डाही परमेश्वर हुँ। मेरो नाउँ व्यर्थमा नलेओ। शबाथको दिन पवित्र राख्न नभुल्नु। त्योचाहिँ, तिम्रा सबै कामहरु ६ दिनसम्म गर, तर सातौँ दिनचाहिँ तिमीहरुका निम्ति विश्राम गर्ने र मलाई सम्झने दिन हो।”
“आफ्ना आमाबावुको आदर गर्नु। हत्या नगर्नु। व्यभिचार नगर्नु। चोरी नगर्नु। झुट नबोल्नु। आफ्नो छिमेकीको स्वास्नी, उसको घर, अथवा उसका केही कुराको लोभ नगर्नु।”
अनि परमेश्वरले यी दश आज्ञाहरु दुईवटा ढुङ्गाको पाटीमा लेख्नुभयो र ती मोशालाई दिनुभयो। परमेश्वरले अरु पनि थुप्रै व्यवस्था र कानुनहरु पालन गर्न दिनुभयो। यदि तिनीहरुले यी व्यवस्थाहरु पालन गरेमा परमेश्वरले तिनीहरुलाई आशिष् दिनुहुने र तिनीहरुको रक्षा गर्नुहुने प्रतिज्ञा गर्नुभयो। यदि तिनीहरुले यी आज्ञा भंग गरेमा तिनीहरुलाई परमेश्वरले दण्ड दिनुहुने छ।
परमेश्वरले इस्राएलीहरुलाई आफूले चाहानुभएको जस्तो पालको निर्माण गर्न विस्तृत नमुना पनि दिनुभयो। त्यसलाई भेट हुने पाल भनिन्थयो र यसका दुईओटा कोठाहरु थिए, जुन एक ठूलो पर्दाले छुट्याइएको थियो। केवल प्रधान पुजाहारीमात्र त्यस पर्दा पछाडीको कोठामा जान पाँउथे, किनकी परमेश्वर त्यहाँ रहनुहुन्थ्यो।
कसैले पनि परमेश्वरको आज्ञा भंग गरेमा उसले एउटा पशू भेट हुने पालको अगाडी रहेको बेदीमा ल्याएर परमेश्वरलाई बलिको रुपमा चढउन सक्थ्यो। एक पुजाहारीले त्यस पशुलाई मार्थे र बेदीमा राखेर जलाइदिन्थे। बलि चढाइएको पशूको रगतले त्यस व्यक्तिको पाप ढाक्ने थियो र परमेश्वरको नजरमा त्यस व्यक्ति शुद्ध हुनेथियो। परमेश्वरले मोशाका भाइ हारुन र उनका सन्तानलाई आफ्नो पुजाहारी हुन नियुक्त गर्नुभयो।
सबै मानिसहरुले परमेश्वरले दिनुभएको आज्ञा मान्न राजी भए; केवल एउटै परमेश्वरलाई पूज्न र उहाँका विशेष मानिसहरु हुन। तर तिनीहरुले वाचा गरेको केहि समयपछि नै, तिनीहरुले डरलाग्दो पाप गरे।
धेरै दिनसम्म, मोशा परमेश्वरसँग बात-चित गर्नको निम्त सिनै पर्वतको टाकुरामा गएका थिए। मानिसहरु उनी फर्कने प्रतिक्षा गर्दा-गर्दा थाके। त्यसैले तिनीहरुले हारुनकहाँ सुनहरु ल्याए र तिनीहरुका निम्ति एउटा मूर्ति बनाउन लगाए!
हारुनले बाछाको आकारमा सुनको एउटा मूर्ति बनाए। मानिसहरुले घोरसँग त्यस मूर्तिलाई पूज्न र बलिहरु चढाउन थाले! तिनीहरुले गरेको त्यस पापको कारण परमेश्वर ज्यादै रिसाउनुभयो र तिनीहरुलाई ध्वंस पार्ने योजना बनाउनुभयो। तर मोशाले परमेश्वरसँग तिनीहरुको निम्ति प्रार्थना चढाए र परमेश्वरले उनको प्रार्थना सुन्नुभयो र तिनीहरुलाई नष्ट पार्नुभएन।
मोशा तल झरेपछि जब उनले त्यस मूर्ति देखे, उनी यति रिसाए कि परमेश्वरले उसलाई दिनुभएको दश आज्ञाका पाटीहरु फालिदिए र फुटाइदिए।
अनि मोशाले त्यस मूर्तिलाई कुटेर धुलो बनाए, त्यो धुलोलाई केही पानीमा हाले र मानिसहरुलाई त्यो पानी पिउन लगाए। परमेश्वरले मानिसहरुमा महामारी ल्याइदिनुभयो र उनीहरुमध्ये धेरैजना मरे।
मोशा फेरि पर्वतमाथि चढे र ती मानिसहरुलाई परमेश्वरले क्षमा गरिदिनुहुनको निम्ति प्रार्थना गरे। परमेश्वरले मोशाको बिन्ती सुन्नुभयो र उनीहरुलाई क्षमा दिनुभयो। आफूले फुटाएका पहिलेका दश आज्ञाका पाटीहरुलाई मोशाले फेरि ढुङ्गाको एक नयाँ पाटीमा लेखेर पुन स्थापित गरे। अनि परमेश्वरले इस्राएलीहरुलाई सिनै पर्वतबाट प्रतिज्ञा गरिएको देशतिर लैजानुभयो।